इजरायल रोजगारीको कार्यविधि छिट्टै कार्यान्वयनमा आउने, २५ वर्ष पुग्नैपर्ने



काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलले अस्थायी रोजगारीसम्बन्धि गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गर्यो । उक्त सम्झौताअनुसार केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने जनाएको थियो । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने जनाएको थियो ।

इजरायलले केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने भनिएता पनि पहिलो चरणमा भने केयर गिभर मात्रै लैजाने तयारी गरेको छ ।

सोही अनुसार पहिलो चरणमा केयर गिभर कामदार लैजान इच्छुक इजरायलले गत माघ ८ गते ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर गरे । उक्त दिन सरकारको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका थिए ।

उक्त हस्ताक्षर समारोहमा राजदूत गोडेरले नेपालबाट जाने कामदारहरुको लागि कुनै विभेद नगरी इजरायलका नागरिक सरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको बताएका थिए । यस्तै, विभागका महानिर्देशक दहालले सम्झौता अनुरुप इजरायल जाने नेपाली कामदारहरुको लागि एक आन्तरिक कार्यविधि तर्जुमा तयार गरी छिट्टै प्रक्रिया थालनी गर्ने बताएका थिए । तर, सम्झौता गरेको करिब डेढ महिना बितिसक्दा पनि कार्यविधि तयार हुन सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल रोजगारीको कार्यविधि तयार भइसकेपछि मात्रै भर्ना प्रक्रिया शुरु हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेका अनुसार इजरायल रोजगारीका लागि कियर गिभर इम्प्लिमेन्टेसन प्रोटोकलका लागि कार्यविधि तयार भइरहेको बताए । मन्त्रालयले यस विषयमा अध्ययन गरिरहेको हुनाले छिट्टै कार्यविधि बन्ने बताए ।

‘अहिले कार्यविधि बनाउने कार्यहरू भइरहेको छ । कार्यविधि बनाई सम्पन्न भइसकेपछि मात्रै कामदारको भर्ना प्रक्रिया, लागतलगायत सम्पूर्णको निर्णय हुनेछ,’ उनले भने । तर, कार्यविधि कहिले कार्यान्वयन हुन्छ र कहिले कामदार जान पाउँछन् भन्ने विषयमा अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

त्यस्तै, सम्पूर्ण कार्यविधि तयारी भई मन्त्रालयमा पुगेको हुनाले मन्त्रालयमा कार्यविधिबारे अध्ययन तथा कार्य भइरहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि नेउपानेले जानकारी दिए । उनका अनुसार विभागले कार्यविधिको ड्राफ्ट तयार गरेर मन्त्रालयमा पठाइसकेको बताए ।
तर, उक्त विषयमा मन्त्रालयले अध्ययन तथा छलफल गर्न बाँकी रहेको उनको भनाइ छ ।

‘विभागले कार्यविधिको ढाँचा अर्थात ड्राफ्ट बनाएर पठाइसकेको छ । तर, कार्यविधिमा छलफल भई कार्यन्वयनमा कहिले आउँछ भन्ने निर्णय मन्त्रालयले गर्ने भएकाले कहिलेसम्म आउँछ भन्ने थाहा छैन,’ उनले भने ।

त्यसैगरी, इजरायल रोजगारी कार्यान्वयन छिटो हुनुपर्नेमा विभाग र मन्त्रालय सकारात्मक रहेको उनको दावी छ । गत असोजमा भएको सम्झौताअनुसार पहिलो चरणमा कियर गिभर लैजान इच्छुक रहेको छ । सोही अनुसार इजरायल सरकारले गरेको सम्झौता बमोजिम नै कार्यविधि बन्ने उनले बताए ।

कार्यविधिमा भर्ना, योग्यता, छनौटको प्रक्रिया र विधि र इजरायलसँगको सम्बन्धको कुरा समेटिएको बताए । साथै, पास भइसकेपछि भिसा, स्वास्थ्य परीक्षण, पुलिस रिपोर्ट र इजराय नपुगुञ्जेसम्मको पक्षमा समेटिएको जनाएको छ ।

कियर गिभर सम्बन्धि ज्ञान आवश्यक
कियर गिभर रोजगारीको लागि इजरायल सरकारले दक्ष जनशक्तिलाई प्राथकितामा राखेको छ । सोही अनुसार कार्यविधिमा योग्यता, सीप तथा तालिम तोकेको नेउपानेको भनाइ छ । इजरायल रोजगारीमा जान इच्छुक कामदारले कियर गिभर सम्बन्धि ज्ञान तथा सीप आवश्यक रहेको विभागले जनाएको छ ।

इजरायले पहिलो चरणमा ५ सर कामदार लैजाने भएकाले जान इच्छुक कामदार कम्तिमा १२ पास भएको हुनुपर्नेछ । जसमा इच्छुक कामदारले एसईई दिइसकेपछि अनमी र अहेबा पढेको हुनुपर्नेछ । तर, यदि उक्त विषय नपढी अन्य विषय लिएर प्लस टु पढेको खण्डमा तीन महिना स्वास्थ्य सम्बन्धि तालिम लिनुपर्नेछ । त्यसैले सोही तोकिएको बमोजिम कार्य गरेको अवस्थामा मात्रै कामदार परीक्षामा सहभागी हुन पाउनेछन् ।

इजरालय रोजगारीमा जानको लागि १२ वर्ष पुग्नै पर्ने कार्यविधिमा उल्लेख गरेको नेउपानेको भनाइ छ । उनका अनुसार सरकारले इजरायल रोजगारीको लागि २५ वर्ष देखि ४५ वर्ष ननाघेको उमेरको हुनुपर्ने जनाएको छ । साथै, विगतको दिनमा इजरायलम गएर फर्केको नहुनुपर्ने जनाएको छ ।

१५ सय डलरसम्म आम्दानी हुनसक्ने अनुमान
हालसम्म इजरायल सरकारले नेपाली कामदारको मासिक आम्दानी कति हुन्छ भनेर ठ्याक्कै तोकेको छैन । तर, सम्झौतामा भने इजरायलका नागरिकसरह श्रमको मूल्य पाउने जनाएको छ । त्यसै अनुसार नेउपानेको अनुसार मासिक १५ सय डलरसम्म मासिक कमाउन सकिने अनुमान गरेको छ ।

जसमा १२ सय जति मासिक तलब हुनेछ भने बाँकी ३ सय जति ओभरटाइम काम गरेबापत पाउन सक्ने उनले बताए । सरकारले इजरायलसँगको सम्झौता जीटुजी गरेको हुनाले नेपाली कामदारलाई सहज हुने उनको दावी छ । त्यससँगै, पास भई इजरायल पुगेका श्रमिकले सबै गरी करिब ७० हजारदेखि बढीमा एक लाखसम्म खर्चमा इजरायल जान पाउने व्यवस्था हुने बताए ।


क्लिकमान्डु