यी ५ बैंकले टेरेनन् कम्पनी ऐनले गरेको व्यवस्था, महिला सञ्चालक शून्य



काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ । कम्पनी ऐनले समेत सञ्चालनमा आएका वा आउने पब्लिक कम्पनीले १ जना महिला सञ्चालक अनिर्वाय हुन पर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार अधिकांश पब्लिक कम्पनीहरुले सञ्चालक समितिमा १ जना महिला सञ्चालक राखेका छन् ।

तर केही पब्लिक कम्पनीहरुले भने संविधान र कम्पनी ऐनले गरेको व्यवस्था हालसम्म पनि कार्यान्यवन गरेको पाइँदैन । त्यो पनि वाणिज्य बैंकहरुले नै ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटा बैंकमा महिला सञ्चालक छैनन् । २७ वटै वाणिज्य बैंकमा महिला र पुरुष गरी कुल १ सय ७४ जना सञ्चालक छन् । जसमध्ये १३ प्रतिशत अर्थात् २४ जनामात्र महिला सञ्चालक छन् ।

कम्पनी ऐन-२०६३ को पहिलो संसोधनमा महिला सेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एकजना महिला सञ्चालक अनिवार्य हुनु पर्ने व्यवस्था छ ।

महिला सञ्चालक नभएका बैंकहरु

हिमालयन बैंक, एनआइसी एशिया बैंक, ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकमा महिला सञ्चालक छैनन् । हिमालयन बैंक जम्मा ९ जना, एनआइसी एशिया बैंकमा ७ जना, ग्लोबल आइएमई बैंकमा ६ जना, सिद्धार्थ बैंकमा ५ जना र सिभिल बैंकमा ६ जना पुरुष सञ्चालकमात्रै छन् ।

महिला सञ्चालक भएका बैंकहरु

लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा २ जना महिला सञ्चालक छन् । लक्ष्मी बैंकमा जम्मा ६ जना सञ्चालक छन् । जसमध्ये विद्या बस्नेत स्वतन्त्र सञ्चालक र स्वाती रुङगटा सर्वसाधारणका तर्पmबाट सञ्चालक छन् ।

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा ५ जना सञ्चालकहरु छन् । जसमा जेरिन दारुवाला अध्यक्ष र करिन दि अलव्युस सञ्चालक छन् ।

नबिल बैंकमा जम्मा ७ जना सञ्चालक छन् । जसमा आशा राना अधिकारी स्वतन्त्र सञ्चालक हुन् । सेञ्चुरी बैंकमा पनि स्वतन्त्र सञ्चालकमा डा. गिता प्रधान छिन् । बैंकमा कुल ६ जना सञ्चालक छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा रोमिला ढकाल उप्रेती सञ्चालक छिन् । बैंकमा हाल ५ जना सञ्चालक छन् । साथै, प्राइम बैंकमा स्वतन्त्र सञ्चालकमा डा. मंगला श्रेष्ठ छिन् । बैंकमा कुल ८ जना सञ्चालक छन् ।

गायत्री थापा सानिमा बैंकको महिला सञ्चालक हुन् । बैंकमा कुल ६ जना सञ्चालक छन् । सनराइज बैंकले सारदा शर्मालाई महिला सञ्चालक नियुक्त गरेको छ । बैंकमा कुल ६ जना सञ्चालक छन् ।

यस्तै, मेगा बैंकमा कुल ६ जना सञ्चालकमा सिवादेवी काफ्ले स्वतन्त्र सञ्चालक छिन् । बैंक अफ काठमाण्डूमा पनि स्वतन्त्र सञ्चालकमा मोहना कुमारी जोशी छिन् । बैंकमा कुल ७ जना सञ्चालक छन् ।

साथै, एनसीसी बैंकमा कुल ७ जना सञ्चालक छन् । जसमा सुमनकुमारी जोशी महिला सञ्चालक हुन् । साथै, नेपाल बंगलादेश बैंकमा प्रर्वद्धकका तर्फबाट क्यामरान नहेर अहमेद महिला सञ्चालक छिन् । बैंकमा कुल ६ जना सञ्चालक छन् ।

यसैगरी, सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्दै माछापुच्छ्रे बैंकमा सिर्जना कार्की भट्टराई, एभरेष्ट बैंकमा उर्मिला श्रेष्ठ, सिटिजन्स बैंकमा सिता कार्की केसी, प्रभु बैंकमा अन्जु अधिकारी र कुमारी बैंकमा अनुराधा चौधरी महिला सञ्चालक छन् ।

माछापुच्छ्रे बैंकमा ६ जना, एभरेष्ट बैंकमा ७ जना, सिटिजन्स बैंकमा ७ जना, प्रभु बैंकमा ६ जना र कुमारी बैंकमा ५ जना कुल सञ्चालक छन् ।

यस्तै, नेपाल एसबीआइ बैंकमा बिमला सुवेदी स्वतन्त्र सञ्चालक छिन् । बैंकमा कुल ६ जना सञ्चालक छन् । साथै, कृषि विकास बैंकमा इन्द्र श्रेष्ठ मास्के स्वतन्त्र सञ्चालक छिन् । बैंकका कुल ७ जना सञ्चालक छन् ।

त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट बैंकमा कूल ७ जना सञ्चालक छन् । जसमा मन्जु बस्नेत स्वतन्त्र सञ्चालक छिन् । नेपाल बैंकमा सरकारकोतर्फ सावित्रि रन्जित श्रेष्ठ महिला सञ्चालक छिन् । बैंकमा कुल ८ जना सञ्चालक छन् ।


पुष्प दुलाल