यती समूहका संस्थापक आङ छिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने



काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो बार्षिक स्मृतिमा यही फाल्गुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएको छ ।

यती एअरलाइन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १५० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

‘पर्यटन व्यवसायी स्व शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ प्रवक्ता बर्तौैलाले भने ।

यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।

उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा बिजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।

जसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यती एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एण्ड डाउनी रहेका छन् । टुर्नामेन्टको मुख्य आयोजकको रुपमा यती एअरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट छन् ।

यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २७ फेब्रुअरी २०१९ अर्थात् विस २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । स्व शेर्पालाई गल्फमा विशेष रुचि र लगाव थियो । नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान दिएका स्व. शेर्पाको यस क्षेत्रमा छुट्टै छाप र परिचय रहेको थियो ।


क्लिकमान्डु