महासंघ र बैकर्स संघबीच साना तथा मझौला व्यवसायीलाई ऋणमा सहजीकरण सहकार्य गर्ने सम्झौता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले हस्ताक्षर गरे । महासंघ अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए ।

‘आजबाट हामी सहकार्यको नयां मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्वोधन गर्नेछ,’ उनले भने, ‘एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए ।

‘हामी दुबै संस्था सम्मृद्धिका असल साझेदार हौं, हामीबीचको सहकार्य निरन्तर अगाडी बढ्ने बताउदै यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौं,’ बैंकर्स संघका अध्यक्ष दाहालले भने ।

अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहु“च विस्तार भैसकेको जानकारी गराउदै महासंघको यो सहकार्यपछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उनले प्रष्ट पारे ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत वसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए ।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अव त्यो समस्यालाई संवोधन गर्ने विश्वास प्रकट गरे ।

मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने बताए ।


पुष्प दुलाल