हुलाकी राजमार्ग काम शुरु भएको १३ वर्षमा ५७ प्रतिशत काम, बाँकी काम कहिले सकिएला ?



काठमाडौं । काम शुरु भएको झण्डै १३ वर्ष पुग्न लाग्दासमेत हुलाकी राजमार्गमा खोजिएको प्रगति हुन सकेको छैन । यद्यपि चालु आवको ६ महिनामा भने केही काम भएको पाइएको छ ।

आयोजना आव २०६५/६६ मा शुरु भएको हो । हालसम्म आयोजनामा ५७ प्रतिशत प्रगति भएको छ । बाँकी काम आगामी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

विगतमा नीतिगत अस्पष्टता, ठेकेदारको ढिलासुस्ती जस्ता कारणले आयोजनामा जटिलता पैदा भएको थियो । चालु आवमा भने आयोजनामा केही देखिने गरी काम भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आवको मध्यवाधि समिक्षामा उल्लेख छ ।

तराई-मधेशको लाइफलाइनका रुपमा निर्माण अघि बढाइएको हुलाकी राजमार्गको चालु आवको खर्चमा सुधार देखिएको छ ।

राजमार्गले पहिलो ६ महिनामा ४७.३३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आवमा हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

गत पुस मसान्तसम्म हुलाकी राजमार्गले ३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ खर्च गरेको छ । समग्रमा हुलाकी राजमार्गको विस्तारको काम ५७ प्रतिशत सम्पन्न भएको निर्देशनालयका निर्देशक रोहित बिसुराल बताउँछन् ।

यो राजमार्गको कुल लम्बाई १ हजार ७ सय ९२ किलोमिटर छ । जसमध्ये ५ सय १२ किमी सडक कालोपत्रे भएको छ । २ सय १९ वटा पुलमध्ये ९५ वटा पुल निर्माण भइसकेको छ ।

धेरै राष्ट्रिय गौरवका आयोजनामा चालु आवको बजेटमा विनियोजन गरिएको बजेट खर्च गर्न पनि हम्मेहम्मे परिरहेको बेला हुलाकी राजमार्गले ६ महिनामा करिब ५० प्रतिशत बजेट खर्च गरेको हो ।

राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत अन्य आयोजनाको तुलनामा हुलाकीको वित्तीय प्रगति सुधारउन्मूख देखिन्छ । मुलुकको अन्य भूभागको तुलनामा तराईमा निर्माण सामग्री ढुवानी गर्न र पूर्वाधार विकास गर्न सहज हुने गर्छ ।

कोभिड-१९ को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण अपेक्षा अनुसार काम हुने सकेको थिएन । चालु आवको शुरुवाती समयदेखि लकडाउन हट्यो । यसले पनि कर्मचारी तथा निर्माण व्यवसायीलाई काम गर्न थप प्रोत्सान गर्यो ।

भारतीय सहयोगको परामर्शदातसँगको सम्झौता पनि सकिन लागेको छ । भारतीय सहयोग रकमको भुक्तानी बढेको छ । कोभिडको आतंक केही हदसम्म शान्त भएकाले निर्माण कार्यको तीब्रतासँगै वित्तीय प्रगति सकारात्मक देखिएको निर्देशक विसुराल बताउँछन् ।

हुलाकी राजमार्गले पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भू-भागलाई जोड्नेछ । त्यसमा तराई-मधेसका २१ जिल्ला जोडिनेछ । नेपालको पूर्व–पश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिई हुलाकी राजमार्ग निर्माण सुरु गरिएको हो ।

हुलाकी राजमार्ग स्तरोन्नती गरी पूर्व-पश्चिम जोड्ने वैकिल्पक मार्गका रूपमा विकास गर्ने उद्देश्य रहेको यो आयोजना आव २०६५/६६ मा शुरु गरिएको हो ।

सुरुवाती समयमा भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको थियो । तत्कालीन समयमा १ लेनको सडक बनाउने गरी डिजाइन गरिएको थियो । ७ सय किलोमिटर सडकका लागि भारतले ८ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

तराईको बढ्दो जनसंख्यालाई यो राजमार्गले थेग्न नसक्ने देखेर नयाँ प्रक्रियाबाट निर्माण थालनी गरिएको पूर्वभौतिक मन्त्रालयका सचिव तुलसी सिटौला सुनाउँछन् ।

भारतको पूर्णसहयोगमा बनाउन खोजिएको सडकमा प्राविधिक र व्यावहारिक कठिनाइ रहेको पनि सिटौलाको भनाइ छ ।

‘सडकको चौडाइ ६ मिटरको थियो, ३० मिटर जग्गा अधिग्रहण गर्ने प्रस्ताव थियो, निर्माणमा सहभागी सबै ठेकेदार भारतीय थिए,’ उनले भने ‘लागतभन्दा कम मूल्यमा ठेक्का हालिएको थियो । घाटा लाग्ने देखिएपछि ठेकेदार काम अलपत्र छोडेर निस्किए ।’

उक्त खण्डमा १ सय २ वटा पुल नेपाल आफैंले बनाउनुपर्ने पनि थियो । भारतले सडक विस्तारका लागि छुट्ट्याएको ८ अर्ब रुपैयाँमा अपुग रकम थप गरी नेपाल आफैं बनाउने निर्णयमा पुगेको सिटौला बताउँछन् ।

आर्थिक वर्ष २०७२÷७३ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय स्थापनापछि विस्तारले गति समातेको निर्देशक बिसुराल बताउँछन् ।

‘आयोजना निर्देशनालय स्थापनाअघि विस्तारको काम कछुवाको गतिमा थियो, अहिले कामको गति बढेको छ,’ बिसुराल भन्छन्, ‘धेरै काम पछिल्लो पाँच वर्षमा भएका हुन् ।’

यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । संशोधित लागत ६५ अर्ब २० करोड रुपैयाँ छ ।

विस्तार सम्पन्न गर्ने समय अवधि २०७९/८० तोकिएको छ । तराई मधेसका २१ जिल्ला भएर बन्ने सडकबाट १ करोडभन्दा धेरै जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछ ।

२०४७ सालमै आएको थियो हुलाकी राजमार्गको अवधारणा

तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए ।

तर, ०६१ सालमा मात्रै भारतीय सहयोगमा हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता भयो ।

दुई देशबीचको सम्झौताको जालोमा घेरिएको यो राजमार्ग निर्माण कार्यले हालसम्म पनि गति लिन सकेको छैन । राजमार्ग निर्माणको जिम्मा पाएको भारतीय ठेकेदारले धमाधम ठेक्का तोड्दै भागेपछि राजमार्ग निर्माण अवरुद्ध भएको हो ।

व्यवस्थापिका संसदको विकास समितिले गत बैशाखमा सरकारले आफ्नै स्रोत साधनबाट निर्माण नथालेर भारतलाई जिम्मा लगाएका कारण यो राजमार्ग बन्न नसकेको निष्शर्कसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

राणाकालीन समयदेखिनै चिठ्ठीपत्र आदान प्रदान गर्न मधेशको वस्ती हुँदै पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी हिंड्ने गोरेटो बाटोलाई हुलाकी राजमार्गको नाममा व्यवस्थित र स्तरोन्नति गर्न खोजिएको हो ।

नेपाल सरकारको मन्त्रीस्तरको ०६९ जेठ २४ गतेको निर्णयले हुलाकी राजमार्गको कुल लम्बाई १७९२.४२ किलोमिटर बनाएको थियो ।

देशकै पुरानो र मधेशको ‘लाइफ लाइन’ को रुपमा रहेको हुलाकी सडक निर्माणमा भएको ढिलाईबाट राज्यको विकासप्रतिको वेवास्ता प्रष्ट भएको संसदीय समितिहरुले निष्शर्क निकालेका थिए ।


पुष्प दुलाल