सरकारी कर्मचारीको संचय कोष तथा निवृत्तभरण कोष ‘रियल टाइम’मा जम्मा हुने



काठमाडौं । सरकारी कर्मचारीको सञ्चयकोष, निवृत्तभरणकोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ । विद्युतीय माध्यमबाट लेखाकंन गर्ने प्रणालीको आज मिति २०७७ फाल्गुन १२ गते बुधबारका दिन अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक  मधुकुमार मरासिनीले संयुक्त रुपमा शुभारम्भ गरे ।

यो प्रणालीको कार्यान्वयनबाट कारोबारको बास्तविक समय मा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम ब्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने,घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्याहरु समाधान हुने छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै कोषका अध्यक्ष रामशरण पुडासैनीले यो प्रणालीको विकासले सरकारी लेखा प्रणालीको सुधारमा इटा थप्ने काम गरेको बताए । उनले सञ्चयकोष रकम कारोबारको बास्तविक समयमा नै सञ्चयकर्ताको खातामा प्रविष्ट हुने भएकोले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले सरकारको कार्यान्वयनमा ठूलो सहयोग पुग्ने बताए । उनले यस किसिमको प्रणालीको विकासले पारदर्शिता कायम गर्ने कार्यमा समेत सघाउ पुग्ने बताए ।

सोही कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले विधुतिय सरकारी लेखा प्रणालीको कार्यान्वयनबाट कर्मचारी सञ्चय कोषको फाँटबारी संकलन कार्यमा सरलिकरण र सहजिकरण हुने बताए  ।

हाल सरकारको संघिय तथा प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगी तर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ताहरु यस प्रणालीबाट लाभाम्वित हुने छन् ।


क्लिकमान्डु