मोवाइल टावरबाट निस्कने ‘इलेक्ट्रोम्यागनेटिक फिल्ड’ले मान्छेलाई कस्तो असर गर्छ ? अध्ययन गरिँदै



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इलेक्ट्रोम्यागनेटिक फिल्ड (इएमएफ) ले मानव शरिरमा पार्ने प्रभावबारे अध्ययन गर्ने भएको छ ।

नेपालमा नियामक निकायबाट इएमएफको प्रभावसम्बन्धी अध्ययन नभएकाले त्यसले मानव शरिरमा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन गर्न लागिएको प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

दूरसञ्चार सेवाको बढ्दो प्रयोगसँगै इएमएफ उत्पादन बढिरहेको छ । यसले मानव शरिरमा कस्तो प्रभाव पारिरहेको छ भन्ने अध्ययन नियामक निकायबाट हुन सकेको छैन ।

यसका लागि प्राधिकरणले नेपालमा अपनाइएको मोबाइल टावरबाट इएमएफ सुरक्षित एक्सपोजर सीमा मापन गर्ने एउटा उपकरण खरिद गरिएको अर्यालले बताए ।

इएमएफले मानव शरिरमा पारेको प्रभाव बारेमा अध्ययन गर्न २०७७ मंसिरमा निर्देशिका पनि जारी गरिएको छ । सो निर्देशिका बमोजिम इएमएफले पार्ने असरबारेमा अध्ययन गर्न खोजिएको हो ।

साथै दूरसञ्चार सेवा प्रदायकलाई पनि आफैं उपकरण खरिद गरेर इएमएफको अध्ययन गर्न निर्देशन दिइएको छ । प्राधिकरणले पनि साढे ३ सयभन्दा धेरै टावरमा इएमएफको प्रभाव बारेमा अध्ययन गर्ने तयारी गरिरहेको छ ।

इएमएफ सुरक्षित एक्सपोजर सिमा मापन गर्ने उपकरणले नेपालमा अपनाइएको मोबाइल ह्यान्डसेटले निम्त्याउने सुरक्षा जोखिम स्पेसिफिक एबजब्रसन रेट (एसएआर) सीमाको अध्ययन गर्नेछ ।

इन्टरनेस्नल कमिसन अन नन् आयोनाइजिङ रेडिएसन प्रोटेक्सन (आईसीएनआईआरपी)ले एसएआर सीमाका लागि औषत निर्धारण गरेको छ । २ वाट प्रति केजी औसत १० ग्राम टिशूभन्दा माथि छ ।

विश्वमा भएका हालसम्मका धेरै अध्ययनले रेडियो फ्रिक्वन्सीले मानव शरिरमा प्रत्यक्ष रुपमा असर गर्दैन भन्ने प्रतिवेदन सार्वजनिक गरेका छन् । रेडियो फ्रिक्वन्सी तथा इएमएफले मानव शरिरमा ठूलो असर नगरे पनि केहि प्रभाव पारेको हुन सक्ने भनेर अध्ययन गरिएको हो ।

रेडियो फ्रिक्वन्सीले मानव शरिरमा पार्ने प्रभाव सम्बन्धमा पछिल्लो ३० वर्षमा करिब २५ हजारभन्दा धेरै लेख रचना प्रकाशित भएका छन् । विश्व स्वास्थ्य संगठनले ० देखि ३०० गिगाहर्जसम्मको फ्रिक्वेन्सी रेन्जले स्वास्थ्यमा खासै नकारात्मक असर पार्दैन भनेको छ ।

तर केही व्यक्ति तथा संघसंस्थाले यस सम्बन्धी अध्ययनलाई अझै ब्यापक बनाउनुपर्ने माग उठाउँदै आइरहेका छन् ।

मोबाइल प्रयोग केही सुरक्षा भने अपनाउनु पर्ने हुन्छ । सकभर मोबाइल फोन प्रयोग गर्दा हात बाहेक शरिरका अन्य अंगको सम्पर्कमा आउन दिनु हुँदैन । मोबाइललाई सीधै टाउको सम्पर्कमा आउनबाट रोक्नुपर्छ । यसका लागि हेडसेटको प्रयोग गर्न सकिन्छ ।

धेरै समयसँग फोनमा कुरा गर्नु हुँदैन । भ्वाइसको विकल्पमा टेक्स गर्ने बानी बसाल्नुपर्छ । हिँड्दै फोनमा कुरा गर्नु हुँदैन ।

शक्तिशाली सिंग्लन भएको ठाउँमा फोन प्रयोग गर्ने बानी बसाल्नुपर्छ । कानमा पुर्याएर फोन डायल गर्न हुँदैन । ल्यान्डलाईन नजिकै छ भने मोबाइल फोन भन्दा ल्यान्डल्यानको प्रयोग गर्नुपर्छ ।

शरिरमा मेडिकल उपकरण जडान गरिएको छ भने कम्तीमा १५ सेन्टीमिटरको दुरीबाट फोन चलाउनुपर्ने विज्ञहरुको भनाइ छ ।


पुष्प दुलाल