पर्यटन व्यवसायीको प्रश्नः राजनीतिक दलले आमसभा गर्न हुने तर पर्यटन क्षेत्र किन बन्द ?



काठमाडौं । पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुका सबै छातासंगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सेफ्टि पोर्टेकलको आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।

देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिँदा पनि कोभिड संक्रमणको जोखिम नहुने बताए ।

पीसीआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने उनको भनाइ छ । यस्तै पीसीआर नेगेटिभ आएका पर्यटकलाई पाँच दिनको क्वारेन्टिन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लागायतका मापदण्डलाई खारेज गर्न उनले माग गरे ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरुले पटकपटक आफ्ना मागहरु सरकारसँग राख्दा समेत सरकारले सुनुवाई नगरेको आरोप लगाए ।

७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुलाई अनिवार्य ५ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाइनुपर्ने, अनलाइन र अराइभल भिषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिसाको व्यवस्था पूर्ववतरुपमा सूचारु हुनुपर्ने, विमानस्थलमा कोभिड जाँच मेसिन राखेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने, कोभिड विरुद्धको खोप अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई पनि उपलब्ध गराउनुपर्ने माग गरे ।

यस्तै नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्नुपर्ने, भारत र चीन तर्फको सीमानाबाट भित्रिने सवारीसाधनहरुलाई निर्वाध रुपमा आउन पाउनुपर्ने र कोभिड खोप लगाएर घुम्न आएका सबै पर्यटकलाई निर्बाध रुपमा घुम्न दिनुपर्ने माग रहेको बताए ।

पर्यटन व्यवसायीहरुले कोभिडबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका पर्यटन व्यवसायीहरुले अहिलेसम्म पुनरकर्जा कोषको सुविधा लिन नपाएको गुनासो समेत गरेका छन् ।

सरकारले राहतको रुपमा कोष निर्माण गरेपनि पहुँच हुनेहरुले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरुले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन्  ।


क्लिकमान्डु