आइकोनिक एसयूभी टाटा सफारी पुन: सार्वजनिक, यस्तो छ फिचर



भारतीय सवारी निर्माता कम्पनी टाटा मोटर्सले आइकोनिक एसयूभी टाटा सफारी आज (सोमबार) भारतमा सार्वजनिक गरेको छ । ९० दशकको चर्चित एसयूभीलाई कम्पनीले पुन २०२१ मा सार्वजनिक गर्ने निर्णय गरेको हो । भारतको गणतन्त्र दिवस जनवरी २६ को अवसर पारेर टाटा सफारी एसयूभी प्रस्तुत गरिएको थियो ।

सोमबारदेखि सर्वसाधारणका लागि उपलब्ध गराउनेगरी कम्पनीले टाटा सफारी सार्वजनिक गरेको हो । टाटा सफारीको शुरुवाती एक्स शोरुम मूल्य १४ लाख ६९ हजार भारु तोकिएको छ ।

ओमेगा आर्क प्लेटफर्म

कम्पनीले आफ्नो नयाँ टाटा सफारीलाई ओमेगाआर्क प्लेटफर्ममा तयार गरेको छ । यो प्लेटफर्ममा लक्जरी एसयूभी ल्यान्डरोभर पनि निर्माण गरिन्छ । यसका साथै सफारीको सानो सवारीको रुपमा लिइने टाटा ह्यारिस पनि कम्पनीको ओमेगाआर्क डिजाइनमा तयार गरिएको हो । यो ल्यान्डरोभरको डी८ प्लेटफर्म हो । यो प्लेटफर्ममा निर्माण भएका सवारीसाधनको फ्रेम र चेचिसको साइज ठूलो हुनुका साथै डिजाइन पनि उत्कृष्ट र दमदार हुनेगर्छ ।

क्रियोटेक इन्जिन

टाटा मोटर्सको डिजल इन्जिन युक्त सवारी उत्कृष्ट हुनेगर्छ । टाटा सफारीमा कम्पनीले २.० लिटर क्षमताको क्रियोटेक टर्बो डिजल इन्जिन दिइएको छ । यो इन्जिनले १७० एचपी र ३५० एनएम पीक टर्क जेनरेट गर्न सक्षम छ । यो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्सिमिसन र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

टाटा सफारी ६ भेरियेन्टमा उपलब्ध छ । एक्सई, एक्सएम, एक्सटी, एक्सटी प्लस, एक्सजेट र एक्सजेट प्लसमा टाटा सफारी सार्वजनिक गरिएको छ । टाटा सफारीको अटोमेटिक ट्रान्समिसनले १४.८ किमी प्रति लिटर माइलेज दिने कम्पनीको दाबी छ ।

सफारीको इतिहास

टाटा मोटर्सले चर्चित टाटा सफारीलाई सबैभन्दा पहिले सन् १९९८ मा भारतमा सार्वजनिक गरेको थियो । तत्कालिन समयमा धेरै ग्राहककको रोजाइमा टाटा सफारी पर्ने गरेको थियो । कम्पनीले समय समयमा कारको मोडलमा परिवर्तन गर्दै आइरहेको थियो ।

हाल उपलब्ध नयाँ मोडलमा कम्पनीले लेटेस्ट फिचर थप गरेको छ । नयाँ सफारी ६ र ७ सिट अप्सनमा पनि उपलब्ध छ । टाटा सफारीमा सेगमेन्टकै पानरोमिक सनरुफ पनि देख्न सकिन्छ ।


क्लिकमान्डु