गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउने बाध्यता



फुङ्लिन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।

सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो । त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्दैआएको छ ।

सेञ्चुरी बैंकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरिएको थियो तर अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । गाउँपालिकामा बैंक नहुँदा गाउँपालिकाको आर्थिक कारोवार गर्न ताप्लेजुङ सदरमुकाम जान बाध्य हुँदै आएको गाउँपालिकाका लेखा अधिकत प्रशान्त भट्टराईले बताए ।

‘गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोवार गर्न कठिनाइ भएको छ, हाम्रै तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ,’ उनले भने ।

सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत समस्या परेको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने निर्देशन दिएको छ तर मिक्वाखोलामा बैंक नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्तालगायतका आर्थिक कारोवारमा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।

‘हामीले धेरै पटक सेञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गर्यौँ तर विभिन्न बहाना गर्दै शाखा स्थापना गरेको छैन,’ उनले भने ।

बैंक शाखा स्थापना नगरेपछि एउटा योजनाका लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म धाउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्केर गाउँपालिकाको कार्यालयमा पुग्नुपर्दछ ।

सदरमुकामा योजनाको पेस्की चेक साटेर गाउँ फर्कनुपर्ने बाध्यता नागरिकले खेप्दै आएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए । यसरी योजना सम्पन्न हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ ।

मिक्वाखोला गाउँपालिकादेखि सदरमुकाम पुग्न रु ५०० गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडामात्र तिर्नुपर्दछ । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाइ भएको मिक्वाखोला–२ का वडाध्यक्ष सुरेन्द्र थापाले बताए ।

बैंकका लागि आवश्यक उपकरण गाउँपालिका केन्द्रमा पुर्याइसकेको तर इन्टरनेट लाइन जोड्न मात्र बाँकी रहेको सेञ्चुरी बैंक प्रमुख कार्यालय काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले बताए ।

‘नेपाल राष्ट्र बैंकले परिपत्र गरेको निकै अगाडि नै हो तर विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापना गर्न नसक्नु हाम्रो कमजोरी हो । बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरक्षाकर्मीसमेत राखिसकेको सामान्य सेवा विभाग प्रमुख अधिकारीले बताए ।


पुष्प दुलाल