अब नेपालगञ्ज-पोखरा रुटमा हवाई उडान, यसरी भयो सम्भव



काठमाडौं । कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि नेपालगञ्ज र पोखराका पर्यटन व्यवसायीको पहलमा नेपालगञ्ज–पोखरामा हवाई उडान शुरु भएको छ । गत साताको शुक्रबार पहिलो पटक सिता एयरले १८ जना यात्रु बोकेर पोखरामा अवतरण गरेपछि यो सम्भव भएको हो ।

नाट्टाको बाँके च्याप्टर र गण्डकी च्याप्टरको सहकार्य, समन्वय र अग्रसरतामा यो सम्भव भएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

‘कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र उकास्नका लागि काम गर्नैपर्ने अवस्था थियो, त्यसैले राज्यले र विमान कम्पनीहरुले कुनै अग्रसरता नदेखाएपछि हामी आफैले शुरु गरेका हौं,’ उनले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार सिता एयरसँग एक महिनाको सम्झौतामा नेपालगञ्ज–पोखरा–नेपालगञ्जको उडान शुरु गरिएको हो । हाल सातामा २ दिन हवाई उडान गर्ने र नेपालगञ्ज र पोखराको पर्यटनमा टेवा दिने उद्देश्य लिइएको छ ।

‘राज्य र विमान कम्पनीले अग्रसरता नलिएपछि हामीले अग्रसरता लिनैपर्ने थियो, त्यसैले एक महिनाका लागि सिता एयरसँग सम्झौता गरेर उडान शुरु गरेका हौं, एक महिनासम्म अवस्था हेरेर बाँकी निर्णय गर्नेछौं,’ सिग्देलले भने ।

नाट्टाले हाललाई शुक्रबार र आइतबारका लागि हवाई उडान हुने गरी योजना बनाएका छौं । जस अन्तर्गत पहिलो पटक गत शुक्रबार नेपालगञ्जबाट पोखराका लागि उडान भयो भने हिजो आइतबार उडान भयो ।

हालसम्म २ वटा दोहोरो उडान भइसकेका छन् । जसमा अकुपेन्सीको हिसाबले हेर्दा निकै राम्रो देखिएको सिग्देलले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जबाट दुर्गम भनिएको कर्णाली पुग्न सजिलो छ, राजधानी काठमाडौं पुग्न सजिलो छ तर सुगम र पर्यटकीय नगरी पोखरा पुग्न किन यति गाह्रो छ भन्ने कुरा राज्यले बुझेर त्यही अनुसारको नीति लिनुपर्छ ।

‘हाम्रो चाहना नेपालगञ्जबाट पर्यटकहरु शुक्रबार पोखरा आउनु र शुक्रबार र शनिबार घुमेर आइतबार फर्कन सकून भन्ने हो, त्यसबाहेक पोखराबाट बाँके, बर्दिया र कर्णाली पुलसम्मको प्याकेज बनाएर जान सकून भन्ने उद्देश्य हो,’ उनले भने ।

उनका अनुसार अहिले एक जनाका लागि एकतर्फी भाडा ५ हजार कायम गरिएको छ । पर्यटकको आवश्यकता अनुसार सातामा भइरहेको २ वटा उडानलाई बढाएर ३ वटा समेत बनाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

‘अहिले कोरोनाको डर छैन भन्ने त राजनीतिक पार्टीका आमसभाले देखाइसकेको अवस्था छ, यस्तो अवस्थामा पनि बोर्डर बन्द गर्नाले जनताले निकै ठूलो पीडा पाएका छन्, अनअराइभल भिसा दिन, क्वारेन्टिनको नियम परिवर्तन गर्न निकै यति धेरै गाह्रो भएको हो बुझ्न सकिएको छैन,’ उनले भने ।

उनका अनुसार यदि नेपालगञ्ज नजिककैको बोर्डरबाट सहज आवतजावत भएमा त्यहाँबाट आउने पर्यटकहरु पोखरासम्म जान सक्छन् । त्यसैका लागि पनि यी दुई पर्यटकीय गन्तव्यका लागि नियमित हवार्इै उडान निकै जरुरी भएको छ ।

यता पोखरा विमानस्थलका प्रमुख भोला गुरागाइँ भने हाललाई सिता एयरलले चार्टर्ड उडान मात्रै गरेको बताए ।

‘अहिलेका लागि यो चार्टर्ड उडान हो, चार्टर्ड उडान लोड कम भएका बेलामा मात्रै गरिने हो, पर्यटनका लागि यो निकै आवश्यक पनि छ । तर १८ सिटे विमानभन्दा पनि कम्तीमा ४२ वा ७२ सिटे विमान नियमित उडान हुन सके समग्र पर्यटन क्षेत्रका लागि राम्रो हुृन्छ,’ उनले भने ।

उनका अनुसार अहिले चार्टर्ड उडान मात्रै भएकाले यो नियमित हुन्छ वा हुँदैन भन्नेमा आशंका रहेको बताए ।

‘अहिले पोखराको पर्यटन १२ देखि १८ प्रतिशत मात्रै रिभाइभ भएको अवस्था छ, कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्नका लागि दुई पर्यटकीय गन्तव्यलाई हवाई उडानमार्फत् जोड्न सक्नु राम्रो हो तर यो दीर्घकालीन हुनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु