नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८५ ‘घ’ बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘घ’ जारी गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले ८ वर्षको अवधिको विकास ऋणपत्र जारी गर्न लागेको हो ।
बोलकबोलको माध्यमबाट निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पनि पाइनेछ ।
ऋणपत्रको बोलकबोल मिति फागुन ११ गते अपराहन्न ३ बजेसम्मका लागि तोकिएको छ । ऋणपत्र खरिद गर्न चाहने खरिदकर्ताले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत् बोलकबोल पेश गर्नुपर्नेछ ।
ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जिक ब्याजमा ब्याजकर लाग्नेछ ।
ऋणपत्रका लागि छुट्याइएको रकममा प्रतिष्पर्धी तथा अप्रतिष्पर्धी बोलवालाहरुले क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत रकम छुट्याइएको छ । आवेदकले कम्तीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सक्नेछन् ।