टेलिकम र वाणिज्य बैंकको मोबाइल मनि आउँदै, इन्टरनेट नभए पनि बैंकिङ कारोबार गर्न मिल्ने



काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा डिजिटल भुक्तानी कम्पनी मोबाइल मनि संचालनमा आउने भएको छ ।

सरकारी लगानी भएका २ वटा ठूला कम्पनीको लगानीमा आउन लागेको मोबाइल मनीले कारोबार संचालनको लागि राष्ट्र बैंकको अनुमति कुरेको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले राष्ट्र बैंकबाट कारोबारको अनुमति पाएको १ महिनाभित्र कम्पनी संचालनमा आउने जानकारी दिए ।

टेलिकम र वाणिज्य बैंक मिलेर गत साउनमा नेपाल डिजिटल कम्पनी लिमिटेड दर्ता गरिसकेका छन् ।

वाणिज्य बैंक र नेपाल टेलिकम मिलेर डिजिटल फाइनान्सिङ कम्पनी बनाउने योजना अन्तर्गत मोबाइल मनिलगायत डिजिटल भुक्तानीको काम गर्न गतवर्षको इन्टरनेशनल टेलिकम डेमा सम्झौता भएको थियो ।

दुरसंचार प्राधिकरण नो अब्जेक्सन लेटर दिएपछि कम्पनी दर्ताको प्रक्रिया अगाडि बढेको थियो । राष्ट्र बैंकले कारोबार गर्नका लागि सैद्दान्तिक स्वीकृति दिएपछि साउनमा कम्पनी दर्ता भएको हो ।

‘राष्ट्र बैंकबाट कारोबारको अनुमति पाउनको लागि निवेदन दिइसकेका छौं राष्ट्र बैंकबाट स्थलगत निरिक्षण समेत भएको छ,’ टेलिकमका प्रमुख डिल्लीराज अधिकारीले भने ।

राष्ट्र बैंकले दिएको सुझावसमेत कार्यान्वयन गरिसकिएको जानकारी दिँदै लाइसेन्स पाएको एक महिनाभित्र संचालन गर्ने उने जानकारी दिए ।

१ अर्ब अधिकृत पूँजी रहेको कम्पनीमा नेपाल टेलिकमको ६२ प्रतिशत लगानी छ भने ३८ प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । जसको चुक्ता पूँजी ४० करोड छ ।

आवश्यक्ताअनुसार टेलिकम र वाणिज्य बैंकले केही स्वामित्व कम गरेर पछि सर्वसाधारणलाई समेत सेयर जारी गर्ने योजना रहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

मोबाइल मनि संचालन गर्नको लागि टेलिकम र वाणिज्य बैंकको सयुक्त लगानीमा खोलेको कम्पनीले प्राविधिक र सेवा संचालन गर्नको लागि अन्तराष्ट्रियरुपमा बोलपत्र आह्वान गरेर कम्पनी छनोट गरेको थियो ।

बोलपत्रमा छनोट भएको कम्पनीले डिजिटल मोबाइल बैंकिङ संचालन गर्ने गृहकार्यको काम अगाडि बढाइरहेको छ ।

सिमित बजारमा अहिले नै डिजिटल भुक्तानी प्रणालीमा तीव्र प्रतिस्पर्धा रहेको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक अधिकारी अहिलेका भुक्तानी सेवा प्रदायक कम्पनी र टेलिकमले वाणिज्य बैंकसँगको लगानीमा ल्याउन लागेको कम्पनीमा धेरै नै फरक हुने बताउँछन् ।

‘अरु कम्पनीभन्दा धेरै कुरामा हामीले ल्याउन लागेको मोबाइल बैंकिङ फरक हुन्छ, वित्तीय पहुँच पुर्याउनको लागि वाणिज्य बैंक र हाम्रो नेटवर्कले ठूलो भूमिका खेल्छ,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

पूँजीगत संरचनामा समेत कम्पनी ठूलो हुने दाबी अधिकारी छ ।

‘हामीले ल्याउन लागेको मोबाइल बैंकिङ स्मार्ट फोन बोक्नेको लागि होइन, स्मार्ट फोन नबोकेर सामान्य फिचर बोक्नेले समेत यसबाट मोबाइल बैंकिङको कारोबार गर्न सक्नेछन्,’ अधिकारीले थपे ।

इन्टरनेट हुने ठाउँमा एप्समार्फत् हुने र नहुने ठाउँमा समेत प्रयोग गर्न मिल्ने गरेर सेवा संचालन हुने छ । सुरक्षाको लगि त्यही किसिमको फायरवाल हुने छ । मोबाइल बैंकिङमा वालेट, क्यूआर, जिटुजी, पिटुबीलगायतका सेवा हुने छन् ।

सन् २०१२ मै आफूले मोवाइल मनिको अवधारणा बनाएको तर नीतिगत असहजताका कारण अहिलेसम्म द्रुत गतिमा काम अघि बढाउन नसकेको उनको भनाइ थियो ।

‘नेपाललाई डिजिटल बनाउने सरकारको अभियानलाई सफल बनाउन हामीले सहायक कम्पनी खडा गरेर डिजिटल भुक्तानीको काम गर्न लागेका हौं,’ उनले भने, ‘सरकारी कम्पनी आउँदा सर्वसाधारणमा विश्वास पनि बढ्छ ।’


पुष्प दुलाल