कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रधानमन्त्रीले भोलि शिलान्यास गर्ने, ९ अर्ब लाग्ने



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरु भएको बताए ।

आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरु भएको दावी गरे ।

सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने बताए । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिँदै उद्योगमन्त्री भट्टले सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने बताए ।

९ अर्ब रुपैयाँको लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाइ छ ।

कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडि बढिरहेको जानकारी दिँदै मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य शुरु गरिएको बताए ।

निर्माणाधिन गेटा मेडिकल कलेजलाई सुदुरपश्चिमकै मेडिकल विश्वविद्यालयको रुपमा विकास गर्न लागिएको उनल बताए । मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने दावी पनि गरे ।


क्लिकमान्डु