माघमा अप्रत्याशित रुपमा बढ्यो सनफ्लावर तेलको निर्यात



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा भट्मासको तेलको निर्यात बढेसँगै सनफ्लावर तेलको निर्यात पनि अप्रत्यासितरुपमा बढेको छ ।

चालु आवको माघ महिनासम्मको तथ्याङ्क अनुसार अप्रत्यासित रुपमा निर्यात बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

हाल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु तथा सेवामा भट्मासको तेल छ । विगतका वर्षहरूमा पाम तेल सबैभन्दा बढी निर्यात हुँदै आएकोमा भारत सरकारले प्रतिबन्ध लगाएसँगै पाम तेलको निर्यात शुन्य अवस्थामा छ ।

तर, पाम आयलको निर्यात घटेसँगै भट्मास तेलको निर्यात भने बढ्दै गएको देखिन्छ । त्यति मात्रै नभई चालु आवको माघ मसान्तसम्मको निर्यातको तथ्याङ्क अनुसार सनफ्लावर तेलको निर्यात पनि उल्लेखनीय गरेको देखिन्छ ।

एकातिर आन्तरिक बजारमा अत्यधिक तेलको मूल्य बढेको छ भने अर्कोतर्फ निर्यात पनि अत्यधिक बढेको छ । यसले गर्दा आन्तरिक बजारमा तेलको अभाव देखाइ मूल्य बढाउने र पर्याप्त मात्रामा प्रशोधित तेल निर्यात गर्दा उपभोक्ताले उचित मूल्यमा किन्न नसकेको उपभोक्ताकर्मीहरूको भनाइ छ ।

माघ महिनाको निर्यात हालसम्मकै उच्च
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको माघ महिनामा सन्फ्लावर तेल निर्यात भएको हालसम्मकै उच्च रहेको छ ।

विगतको वर्षहरूमा मासिक १ हजार लिटर पनि निर्यात हुन निकै कठिन हुने अवस्थामा चालु आवमा भने सनफ्लावर तेलको निर्यात बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७६/७७ को माघ महिनासम्ममा नेपालले १ लाख ६० हजार मूल्य बराबरको ११ सय २६ लिटर मात्रै तेल निर्यात गरेको थियो । तर, चालु आवको माघ मसान्तसम्ममा नेपालले ५३ करोड ४९ लाख ५४ हजार मूल्य बराबरको ३६ लाख ५४ हजार २८२ लिटर सनफ्लावर तेल निर्यात गरेको छ ।

त्यसैगरी भन्सार विभागको तथ्याङक चालु आवको माघ महिनाको अवधिमा सबैभन्दा बढी निर्यात भएको वस्तु तथा सेवा मध्येमा पहिलो नम्बरमा भटमासको तेल रहेको छ भने दोस्रोमा प्रशोधित सनफ्लावर तेल रहेको छ ।

जसमा माघ महिनामा मात्रै ३० करोड ७६ लाख रुपैयाँ बराबरको १० लाख १६ हजार लिटर तेल निर्यात गरेको छ । त्यसैगरी आव २०७६/७७ नेपालले ११ करोड ६७ लाख ६९ हजार मूल्य बराबरको ८ लाख ४८ हजार लिटर सनफ्लावर तेल निर्यात गरेको थियो । साथै, चालु आव २०७५/७६ मा नेपालले जम्मा ७ लाख ३९ हजार मूल्य बराबरको ३ हजार २१ केजी सनफ्लावर तेल निर्यात गरेको थियो ।


क्लिकमान्डु