७ वटा कम्पनीको आइपीओ र राइट सेयरका आवेदन रद्द



काठमाडौं । समयमा नै कागजात नबुझाउने ७ वटा कम्पनीका आइपीओ र राइट सेयर रद्ध भएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओ र राइट सेयर निष्काशनको आवेदन दिएर स्वीकृतिको पाइपलाइनमा रहेका कम्पनीहरुको आवेदन रद्द गरी पाइपलाइनबाट हटाएको हो ।

जसमा ३ वटा कम्पनीको आइपीओ र ४ वटा कम्पनीको राइट सेयर पाइपलाइनबाट हटेका छन् । आइपीओ, एफपीओ, राइट सेयर, डिबेञ्चर, म्युचुअल फण्ड जस्ता सार्वजनिक निष्काशनको लागि बोर्डमा आवेदन दिएर माग गरिएको कागजात ६ महिनासम्म पनि पेश नगर्ने कम्पनीको आवेदन पाइपलाइनबाट हटाइएको धितोपत्र बोर्डका सह–प्रवक्ता रुपेस केसीले जानकारी दिए ।

जसमा इर्मजिङ नेपालको ५ लाख कित्ता, तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता र शुभम् पावर कम्पनीको ५ लाख ८० हजार ५८० कित्ता आइपीओको पाइपलाइनबाट हटाएको छ ।

बोर्डले इर्मजिङ नेपाललाई ०७६ साउन ५ गते, हिमालयन हाइड्रोपावरलाई ०७६ असोज १४ गते, तेह्रथुम पावर कम्पनीलाई ०७५ असार १२ गते र शुभम् पावरलाई ०७५ फागुन ५ गते रिभ्यु एण्ड कमेन्ट गरी सकेको थियो ।

रिभ्यु एण्ट कमेन्ट गरेपछि बोर्डले आवश्यक कागजात कम्पनीसँग माग गर्छ र त्यसमा कम्पनीले माग गरिएको कागजात पठाउनु पर्ने हुन्छ । तर यी कम्पनीहरुले त्यसमा आवश्यक ६ महिनासम्म पनि नपाठाएको हुँदा पाइपलाइनबाट हटाइएको बोर्डका सह–प्रवक्ता केसीले बताए ।

कुनै पनि कम्पनीको ६ महिनामा अर्धवार्षिक वित्तीय विवरण समेत परिवर्तन हुने हुँदा बोर्डको कमेन्टमा ६ महिनासम्म पनि रिप्लाइ नगरेमा सो आवेदनलाई स्वत्ः बोर्डले पाइपलाइनबाट हटाउने व्यवस्था एक साता अघि गरिएको उनले जानकारी दिए ।

यस्तै राइट सेयर जारी गर्ने बोर्डको स्वीकृतिको पाइपलाइनबाट हटेका कम्पनीहरुमा हाइड्रोइलेक्ट्रिसिट इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी, म्यादी पावर ग्रुप, वरुण हाइड्रो पावर र शंखर सुगर मिल्स रहेका छन् ।


पुष्प दुलाल