राष्ट्र बैंकद्वारा ब्याजदर करिडोरको तेस्रो संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तेस्रो संशोधन गरेको छ । समयसापेक्ष विषयवस्तुहरू समावेश गर्दै पुनः परिमार्जन गर्न आवश्यक देखिएको हुँदा ब्याजदर करिडोरको तेस्रो संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
हालसम्म ‘ब्याजदरसम्बन्धी करिडोर, २०७६’ को दोस्रो संशोधन २०७७ कार्यान्वयमा थियो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् गरिएका नीतिगत व्यवस्थाहरूलाई समावेश गरी दोस्रो संशोधनलाई परिमार्जन गरी तेस्रो संशोधन कार्यान्यमा ल्यायएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
‘मौद्रिक नीतिमा उल्लेख गरिएअनुसार ते्रस्रो संशोधन प्रकाशित गरिएको छ’ उनले क्लिकमाण्डूसँग भने, ‘तर दोस्रो संशोधनमा गरिएका व्यवस्थालाई भने तेस्रो संशोधनमा केही परिवर्तन गरिएको छैन ।’
तेस्रो संशोधनमा रिपोदर, ब्याजदरको माथिल्लो र तल्लो सीमा, तरलता सुविधा लगायतका दरहरु दोस्रो संशोधनकै कायम गरिएको उनले जानकारी दिए ।
केन्द्रीय बैंकले जारी गरेको ब्याजदरसम्बन्धी कार्यविधि, २०७६ तेस्रो संशोधन, २०७७ अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर ५.० प्रतिशत रहेको छ । भने, ब्याजदर करिडोरअन्तर्गत ओभरनाइट रिपो दर नीतिगत दरकारुपमा ३.० प्रतिशत रहेको छ ।
साथै, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १.० प्रतिशत रहेको छ ।
यसैगरी, ब्याजदर करिडोरअन्तर्गत तरलता प्रवाह गर्नका लागि ओभरनाइट रिपो उपकरण ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अघिल्लो दिनको आफ्नो स्वदेशी निक्षेप दायित्वको ०.२५ प्रतिशत सम्म हप्तामा एकपटक रिपो सुविधाको बार्षिक ३ प्रतिशत ब्याजदर पाउनेछन् ।
उक्त सुविधा उपयोग गर्न निवेदन दिनुभन्दा अघिल्लो दिनको उपलब्ध अन्तर बैंक ब्याजदर भारित औसत अन्तर बैंकदर ३.० प्रतिशतभन्दा माथि रहेको हुनु पर्नेछ ।
ब्याजदर करिडोरअन्तर्गत तरलता प्रशोचन गर्नका लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरणमार्फत् १.० प्रतिशत ब्याजदरमा आवश्यकता अनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्न सकिनेछ ।