धनगढीस्थित श्री त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा
काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको शुरुवात गरे ।
क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक घिमिरेले काठमाडौं बाहिर रहेको कृषि बजारमा माछापुच्छ्रे बैंकले शुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने बताए ।
कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक सर्जुकुमार थापाले बैंकले देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए ।
राष्ट्र बैंकका निर्देशक घिमिरेले गोलभेडा तथा टपरी किनेर क्युआर कोडमार्फत् रकम भुक्तानी गरी क्युआर कोड सेवाको शुरुवात गरेका थिए ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ ।
साथै अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत् खाता एंव मुद्दति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।