कोरोना नभएको भए भैरहवा र पोखराका नयाँ विमानस्थल सञ्चालनमा आइसक्थेः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नआएको भए भैरहवा र पोखराका नयाँ विमानस्थल सञ्चालनमा आइसक्ने दावी गरेका छन् ।

सरकार गठन भएको ३ वर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कोरोना महामारीका कारण विमानस्थल निर्माणमा ढिलाइ भएको बताए ।
‘कोरोना महामारी नभएको भए यी दुबै विमानस्थल सञ्चालनमा आइसक्थे,’ उनले भने ।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ५० प्रतिशतबाट ९८.८ प्रतिशत पुगेको बताए । तर अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा भने ९० प्रतिशत मात्रै प्रगति भएको उल्लेख छ । उक्त तथ्यांक पुस महिनासम्मको मात्रै हो ।

यदि प्रधानमन्त्रीले फागुन १ गतेसम्मको तथ्यांक प्रस्तुत गरेको हो भने पनि एक महिनामा ८.८ प्रतिशत थप काम हुन सक्ने अवस्था छैन । किनभने कोरोना महामारीका कारण चिनियाँ कामदारहरु नेपाल फर्केर काम गर्ने अवस्था बनिसकेको छैन ।

सन् २०१९ को डिसेम्बरसम्ममा निर्माण सम्पन्न भइ सन् २०२० को मार्च महिनादेखि सञ्चालनको तयारी भए पनि सरकार त्यसमा चुकेको थियो । मार्च महिनामा लकडाउन भएसँगै यसको काम हालसम्म पनि उल्लेख्यरुपमा अगाडि बढ्न सकेको छैन ।

त्यसैगरी प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पोखरा क्षेत्रीय विमानस्थल निर्माणको काम १५ प्रतिशतबाट ७० प्रतिशत भौतिक प्रगति भएको बताए । तर अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ६२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । प्रधानमन्त्रीले ८ प्रतिशत थप गरेर ७० प्रतिशत काम सम्पन्न भएको दावी गरे ।

प्रधानमन्त्रीले भने जस्तै कोरोना महामारी नभएको भए पोखरा विमानस्थल निर्माणको अन्तिम चरणमा पुगे पनि सञ्चालन हुने गरी सम्पन्न हुने अवस्था छैन । किनभने विमानस्थलमा विमान अवतरण र उडान गर्नका लागि अप्रोचमा पर्ने रिठ्ठेपानी डाँडा कटानको काम शुरु नै हुन सकेको छैन ।

पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आइसकेपछि पर्यटन मन्त्रालयले वन मन्त्रालयमा बल्ल पत्र पठाएको छ । त्यसबाहेक आयल निगमको डिपो निर्माणको काम नेपाल आयल निगमले अगाडि नै नबढाएको पर्यटनमन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु