सेयर कर्जाको सीमा घटाउँदै राष्ट्र बैंक, ६० प्रतिशत तोक्ने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गर्ने भएको छ । पछिल्लो समय बैंकहरुले सेयर बजारमा कर्जा धमाधम लगानी बढाउन थालेपछि राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामामार्फत् यस्तो व्यवस्था गर्न लागेको हो ।

बैंकहरुमा अन्य क्षेत्रबाट कर्जाको माग न्यून हुँदा बैंकहरुले सेयरधितो कर्जालाई नै प्राथमिकता दिएको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा कर्जा प्रवाह गर्न नसक्दा सेयर बजारमा लगानी बढाएको राष्ट्र बैंकको तथ्यांकले प्रष्ट हुन्छ ।

गत असारयता पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीको कर्जा प्रवाह हेर्दा सो अवधिमा ५० प्रतिशत बढीले सेयर धितो कर्जाको वृद्धि देखिन्छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ५० अर्ब ४१ करोड रुपैयाँ सेयर धितामा कर्जा प्रवाह गरेकामा पुस मसान्तसम्म आइपुग्दा २५ अर्ब २९ करोड ३० लाख रुपैयाँले थप गरेर ७५ अर्ब ७० करोड ३० लाख रुपैयाँ पुर्याएका छन् ।

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा फिर्ता ल्याउनलाई बैंकहरुको कर्जा लगानीलाई स्थान्तरण गर्न आवश्यक भएको हुँदा सेयर धितोमा जाने कर्जाको सीमा घटाउने तयारी गरिएको राष्ट्र बैंकमा एक अधिकारीले बताए ।

‘सेयर धितो र ओभरड्राफ्ट कर्जाको वृद्धि अन्य कर्जाको तुलनमा बढ्दो छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘यस्तो प्रकारको कर्जामा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नै सम्बोधन गर्न खोजेको थियो । तर विविध काराणले गर्दा सेयर धितो कर्जाको सीमा परिमार्जन हुन गर्न सकिएन ।’

अर्थतन्त्रको आवश्यकताअनुसार वित्तीय साधान परिचालनमा राष्ट्र बैंकले उचित नियमन गर्नुपर्ने हुँदा अहिलेको आवश्यकता भनेको सेयर बजारमा जाने लगानीलाई अन्य क्षेत्रमा स्थान्तरण गर्नु नै रहेको उनको भनाइ छ ।

विषेशगरी लकडाउनपछि आर्थिक गतिविधि राम्रोसँग चलायमान हुन सकेको छैन । तर सेयर बजारमा भने उच्च वृद्धिदर कायम छ ।

आर्थिक गतिविधि बीना सेयर बजार बढ्दा बैंकको ऋण लगानी जोखिममा पर्ने हुँदा यसको सीमालाई परिमार्जन गर्ने तयारी गरिएको ती अधिकारीले जानकारी दिए ।

‘शिर्षक नखुलेका ओभरड्राफ्ट कर्जासमेत सेयर बजारमा नै गएको देखिन्छ भने बैंकबाट सेयर धितोमा कर्जा लिएर लगानी गर्ने नयाँ लगानीकर्ता समेत धेरै थपिएका छन्,’ ती अधिकारीले थपे, ‘अहिलेको ७० प्रतिशतको सीमालाई ५ देखि १० प्रतिशतको हाराहारीमा घटाउने विषयमा विभागिय छलफल भइरहेका छन् । तर सेयर धितोको सीमालाई के कसरी परिमार्जन गरिने हो त्यसको अन्तिम निर्णय भने सञ्चालक समितिले नै गर्छ ।’

राष्ट्र बैंकको वित्तीय स्रोत परिचालन नीति अनुसार पनि बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा यस्ता कर्जाको सीमा बढाउने र तरलताको पर्याप्तता घट्दै जाँदा सीमा घटाउने नै रहेको उनको भनाइ छ ।

हाल बैंकिङ प्रणाली अधिक तरलता भएपनि यसको परिमाण घट्दो छ । राष्ट्र बैंकले भविष्यमा तरलता अभाव हुनसक्ने अनुमान गर्दै सेयर बजारमा जाने बैंकको लगानीलाई अन्य क्षेत्रमा स्थान्तरण गर्न सो नीति अबलम्बन गर्न लागेको ती अधिकारीले बताए ।

पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीले पुस मसान्तसम्म कुल ३६ खर्ब ६२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाहित कुल कर्जाको २.०६ प्रतिशत कर्जा बैंक तथा वित्त कम्पनीले सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् ।

पुस मसान्तसम्म बैंक तथा वित्त कम्पनीद्वारा प्रवाहित सेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरुले ६४ अर्ब ६ करोड रुपैयाँ प्रवाह गरेका हुन् । जुन गत असारमा प्रवाहित सेयर धितो कर्जामा ५४.९४ प्रतिशत अर्थात् २२ अर्ब ७१ करोड ५० लाख रुपैयाँ बढी हो ।

यसैगरी विकास बैंकहरुले पुस मसान्तसम्म ९ अर्ब २ करोड ५० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । जुन गत असार मसान्तको तुलनामा ४० प्रतिशत अर्थात् २ अर्ब ५७ करोड ९० लाख रुपैयाँ बढी हो ।

तर सो अवधिमा वित्त कम्पनीले भने सो शिर्षकको कर्जा ०.०३ प्रतिशतले घटाएका छन् । गत असार मसान्तमा २ अर्ब ६१ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका वित्त कम्पनीहरुले पुस मसान्तसम्म १० लाख रुपैयाँले घटाएर २ अर्ब ६१ करोड ८० लाख रुपैयाँमा सीमित गरेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अर्ध वार्षिक समीक्षामा सेयर धितो कर्जाको सीमालाई पपिरमार्जन गरी घटाउने संकेत पाएपछि बैंकरहरुले भने गभर्नरलाई सीमा नघटाउन आग्रह गरिरहेका छन् ।

मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकले आयोजना गरेको भर्चुयल सुझाव संकलन कार्यक्रममा धेरै बैंकरहरुले गभर्नर सामु सीमा घटाउँदा बजारमा नकारात्मक प्रभाव पर्ने भन्दै कर्जाको सीमा यथावत राख्न आग्रह गरेका हुन् ।


पुष्प दुलाल