महिलाले विदेश जानुअघि वडाको सिफारिस लिनुपर्ने विषयमा अध्यागमनको स्पष्टिकरण



काठमाडौं । अध्यागमन विभागले ४० वर्षभन्दा मुनी महिलाले विदेश जानुअघि वडा कार्यालयको सिफारिस तथा परिवारको सहमति चाहने विषयमा समाचार भएपछि स्पष्टिकरण दिएको छ ।

नयाँ बन्न लागेको कार्यविधिमा विदेश जाने महिलाको हकमा ४० वर्षभन्दा कम भएकोमा वडा कार्यालयको सिफारिस र परिवारको सहमति चाहिने भन्ने विषय सञ्चारमाध्यममा प्रकाशित भएको थियो । त्यसपछि विभागको चर्को आलोचना समेत भएको थियो ।

यस विषयमा विभागले समाचारमा आएको जस्तो नभइ खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारेमा सामान्य जानकारी समेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझावहरुका रुपमा आएको विषयमा भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषय भएको बताए ।

विभागले यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको भन्दै सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यानवयनमा सहजता समेत हेरी नागरिकको मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने बेहोरा समेत जानकारी गराएको छ ।


क्लिकमान्डु