सवारी साधनको आयातमा देखिएको समस्या समाधान गर्न नाडाको अर्थमन्त्रीसँग माग



काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले फेयर ट्रेड गर्दै आएकाले सवारी साधनको आयातमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बुधबार भेटवार्ता गर्दै उनले भेटी अटोमोवाइल व्यवसायमा देखा परेका समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक बर्ष २०७७÷७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने व्यवस्था रहेको बताए ।

सो व्यवस्थाले उत्पादक कम्पनीद्वारा नियुक्त जुन सुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा मन्त्रीलाई जानकारी गराए ।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्या समाधानका लागि आग्रह गरे ।

छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अव अटोमोवाइल व्यवसायीहरुले नेपाल मै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने बताए । उनले त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताए ।

छलफलमा नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष बिक्रम सिंहानिया लगायतको उपस्थिति थियो ।


क्लिकमान्डु