यती एअरलाइन्स मार्चदेखि पूर्ण क्षमतामा सञ्चालन हुने



काठमाडौं । निजी क्षेत्रमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ ।

कोभिड-१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको यतीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको हो ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए ।

‘यती एअरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर-७२’ विमानसमेत थप गर्न लागेका छौँ,’ प्रवक्ता बर्तौलाले भने । यससँगै यतीसँग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ ।

पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले पोखरामा दैनिक ७, विराटनगरमा ५, भैरहवामा ३, नेपालगञ्जमा २, जनकपुरमा २, सिमरामा ४, तुम्लिङटारमा २, भद्रपुरमा २ र माउण्टेन फ्लाईटका लागि २ वटा उडान भर्न लागेको हो ।

सबैभन्दा धेरै गन्तब्यहरुमा उडान भर्दै आएको यती एअरलाइन्स र भगिनी संस्था तारा एअरले योसँगै दैनिक १०० भन्दा बढी उडान गर्ने एअरलाइन्सले जानकारी दिएको छ ।


क्लिकमान्डु