खतिवडाले ल्याएको बजेटको आकार बिष्णु पौडेलले घटाए, खतिवडाले भनेको आर्थिक बृद्धि नहुने



काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समिक्षा मार्फत आकार घटाएको छ ।

जेठ १५ मा ल्याएको बजेटमा यो वर्ष १४ खर्ब ७४ अर्ब खर्च हुने अनुमान थियो । मंगलबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले यो वर्ष १३ खर्ब ४४ अर्ब खर्च हुने संसोधित अनुमान पेश गरे ।

सरकारले यो वर्ष चालु खर्च अन्तर्गत ९ खर्ब १४ अर्ब,पूँजीगतमा २ खर्ब ८३ अर्ब तथा वित्तीय व्यवस्था अन्तर्गत १ खर्ब ४६ अर्ब खर्च हुने अनुमान गरेको छ ।

अर्थमन्त्रालयले राजस्वको लक्ष्य समेत संसोधन गरेको छ । जेठ १५ मा ल्याएको बजेटमा १० खर्ब ११ अर्बको राजस्वको लक्ष्य राखिएकोमा संसोधन गर्दै यसलाई ९ खर्ब ५९ अर्ब मात्र राजस्व उठाउने भनिएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले जेठ १५ मा तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटको मध्यावधी समिक्षा मार्फत लक्ष्यहरु घटाएका हुन् । बजेट ल्याउदा ठूलो आकारको ल्याउने र मध्यावधी समिक्षा मार्फत घटाउने प्रचलन भने नयाँ होइन । पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कोभिड १९ को चुनौती देखिएपनि अर्थतन्त्र विस्तारै लयमा जान लागेको बताए ।

बजेट भाषण गर्ने मन्त्री फेरिएपनि अर्थमन्त्रालयमा बजेट निर्माणमा संलग्न अधिकारी भने परिवर्तन भएका छैनन् ।

अर्थमन्त्रीले बजेटमा उल्लेख भएको ७ प्रतिशतको बृद्धिदरको लक्ष्य पुरा नहुने बताउदै औसत मात्र बृद्धि हुने बताए । यद्यपी आर्थिक बृद्धिदरको संसोधित लक्ष्य भने राखिएको छैन ।

अर्थसचिव शिशिर ढुंगानाले औसतमात्र आर्थिक बृद्धिदर हुने र आर्थिक बृद्धिदरको जानकारी केन्द्रिय तथ्यांकले विभागले दिने बताए ।


क्लिकमान्डु