आयात ४.८ प्रतिशतले घट्दा निर्यात ६.१ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आवको पुस मसान्तसम्म कुल निर्यात ६.१ प्रतिशत वृद्धि भएको छ । ६ महिनामा निर्यात रकम ६० अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५०.० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी आयाततर्फ आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदीलगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटी ६०० अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु