बुध्द एयरको दैनिक सय उडान



काठमाडाैं । नयाँ जहाजको आगमनसँगै बुध्द एयरले आक्रमक बजार बिस्तार गर्न लागेको छ । काठमाडौं वाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ । थपिएको जहाजपछि बुध्द एयरसँग ९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाज हुनेछन् ।

कोभिड-१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार बिस्तारसहित उपस्थिति जनाउने भएको छ । यसअनुसार बुध्द एयरले दैनिक सय उडान तथा अवतरण गर्ने गरी तालिकासमेत बनाइसकेको छ ।

‘अब हामी दैनिक १०० भन्दा बढी उडान भर्नेंछाैं,’ बुध्द एयर मार्केटिङ सेल्स निर्देशक रुपेश जोशीले भने ।

‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान भर्ने मार्कटिङ सेल्स निर्देशक रुपेश जोशीले बताए । अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरेर उडान बिस्तार गर्ने बुध्द एयरले जानकारी दिएको छ ।

यसबाट यात्रुले आफूखुशी अनुकल समयमा हवाई यात्रा गर्नसक्छन् । अझ कर्पोरेट विजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्छन् ।

थपिएको जहाजबाट हामीलाई नियमित बिमान मर्मत सम्भार गर्न थप सजिलो हुने जोशीले बताए ।

बुध्द एयरले अहिले भद्रपुर, तुम्लिङटार, बिराटनगर, राजविराज, जनकपुर, सिमरा,  भरतपुर, पोखरा,  भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाइट पनि गरिरहेको छ ।

भारतको बनारस उडान दुबै देशको स्वीकृतपछि पुनः थाल्नेछन् ।


क्लिकमान्डु