अर्थमन्त्रालयद्वारा ६ महिना इन्धनमा करिब १ करोड र सवारी मर्मतमा सवा २ करोड खर्च



काठमाडौं । अर्थमन्त्रालयले ६ महिनामा ४२ लाख रुपैयाँ बढी कर्मचारीको अतिरिक्त सेवा सुविधा तथा भत्तामा खर्च गरेको छ ।

चालु आर्थिक वर्ष काक्तिक, मंसिर र पुस महिनामा ४२ लाख २८ हजार रुपैयाँ मन्त्रालयले आफ्नो मातहतका निजामति कर्मचारीका लागि तलबका अतिरिक्त खर्च गरेको हो ।

जुन बैठक भत्ता, अन्य भत्ता, पदाधिकारीको अन्य सुविधा, योगदानमा आधारीत बीमा कोष खर्च र मंहगी भत्ता वापत मन्त्रालयका कर्मचारीले रकम ३ महिनामा उपयोग गरेका हुन् ।
साथै, मन्त्रालयले सो अवधिमा इन्धन तथा सवारी साधन मर्मतको लागिमात्र ९१ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयले आफ्नो मातहतका कार्यालय प्रयोजनका सवारी साधनमा खपत हुने इन्धन र सोको मर्मतका लागि चालु आवमा २ करोड २६ लाख रुपैयाँ छुट्याएको छ ।

जसमध्ये काक्तिक, मंसिर र पुस महिनामा ३८ लाख ७ हजार रुपैयाँ बढी इन्धनमा र ५३ लाख ६५ हजार रुपैयाँ बढी सवारी मर्मतमा खर्च गरिसकेको हो ।

अर्थमन्त्रालयले सूचनाको हक २०६६ को प्रयोजनार्थ ३ महिनामा मन्त्रालय सम्बन्धीत विवरण सार्वजनिक गरेको छ । जसअनुसार सो अवधिमा मन्त्रालयको ६ करोड ९६ लाख ३५ हजार रुपैयाँ कर्मचारीलाई तलबमा खर्च भएको छ ।

कुल तलब खर्चमध्ये पदाधिकारी कर्मचारीको लागि ९ लाख ४० हजार रुपैयाँ र बाँकी अन्य कर्मचारीमा खर्च भएको हो । मन्त्रालयले चालु आवमा पदाधिकारीका लागि ३४ लाख रुपैँया र अन्य कर्मचारीका लागि १२ करोड २ लाख रुपैँया खर्च विनियोजन गरेको थियो ।

यसबाहेक मन्त्रालयले कर्मचारीका लागि काक्तिक मंसिर र पुस महिनामा महंगी भत्तामात्र २७ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले चालु आवमा महंगी भत्ता वापत ४७ लाख रुपैँया छुट्याएको थियो ।

यसैगरी मन्त्रालयल सो अवधिमा कर्मचारीको बैंठक भत्तामा ८ लाख ९५ हजार रुपैयाँ र अन्य भत्तामा ५ हजार रुपैयाँ खर्च गरेको छ । चालु आवको लागि मन्त्रालयले १० लाख रुपैँया बैठक भत्ता र १ लाख रुपैयाँ अन्य भत्ता वापत छुट्याएको थियो ।

सो अवधिमा पदाधिकारी कर्मचारीका अन्य सुविधाको लागि ६४ हजार रुपैयाँ खर्च भएको छ । चालु आवमा मन्त्रालयले पदाधिकारीका अन्य सुविधाको लागि ४ लाख रुपैयाँ छुट्याएको छ । साथै, सो अवधिमा योगदानमा आधारित सामाजिक बीमा कोषको खर्च मन्त्रालयले ५ लाख रुपैयाँ पठाएको छ ।


क्लिकमान्डु