६ महिनामा पौने २ खर्ब विदेशी सहायताको प्रतिवद्धता, साढे ४ खर्ब राजश्व संकलन



काठमाडौं । सरकारले चालु आवको ६ महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको विदेशी सहायताको प्रतिवद्धता पाएको छ । चालु आवको पुस मसान्तसम्म विदेशी अनुदान सहायता र ऋण सहायता गरी १ खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजार रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता पाइसकेको अर्थमन्त्रालयले जनाएको छ ।

जसमध्ये १८ अर्ब १२ करोड ५२ लाख ५० हजार रुपैयाँ बैदेशिक अनुदान सहायता र १ खर्ब ६९ अर्ब ३१ करोड १० लाख २० हजार रुपैयाँ बैदेशिक ऋण सहायता हो ।

मन्त्रायका अनुसार कात्तिक, मंसिर र पुस गरी महिना तीन महिनामा मात्रै अनुदान सहायता १० अर्ब ४४ करोड ६३ लाख ४० हजार र ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार गरी जम्मा १ खर्ब २ अर्ब ४ करोड १३ लाख ६० हजारको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो ।

यसैगरी, सरकारले २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । जसमध्ये सरकारले पहिलो चौमासिक अवधिमा ५७ अर्ब उठाइएको सकेको छ भने दोस्रो चौमासिक अवधिमा ५६ अर्ब आन्तरिक ऋण उठाउने गरी निष्कासन तालिका स्वीकृत गरिएको छ ।

यस्तै, पुस मसान्तसम्म सरकारले ४ खर्ब ५० अर्ब ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा कर राजश्ववापत ३ खर्ब ८६ अर्ब ५३ करोड रुपैयाँ, गैरकर राजस्ववापत ३५ अर्ब ७० करोड रुपैयाँ र अन्य प्राप्ति वापत २७ अर्ब ८२ करोड रुपैयाँ राजश्व संकलन गरेको हो ।

साथै सो अवधिमा ३७ लाख ५ हजार ६ सय १३ जना व्यक्तिले स्थायी लेखा नम्बर लिएका छन् । जसमध्ये २२ लाख २५ हजार २ सय ९१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १४ लाख ८० हजार ३ सय २२ जनाले व्यवसायीक स्थायी लेखा नम्बर लिएका हुन् ।

पुस मसान्त्सम्म २ लाख ७५ हजार २८ जना मूल्य अभिवृद्धि करमा दर्ता र १ लाख २० हजार ६४ जना अन्तशुल्कमा दर्ता भएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु