एक महिनामा सक्ने गरी ३८ वर्षपछि फेवातालको बाँध मर्मतसम्भार कार्य शुरु



काठमाडौं । पर्यटकीय नगरी पोखराको फेवाताको बाँध जीर्ण भएपछि मर्मत शुरु गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले एक महिनामा मर्मत काम सक्ने गरी काम शुरु गरिएको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख किरण आचार्यका अनुसार २ करोड रुपैयाँको लागतमा मर्मतको काम शुरु गरिएको हो ।

‘भारत सरकारको सहयोगमा २०१८ सालमा १५ लाख रुपैयाँ खर्चिएर बाँध निर्माण गरिएको थियो । २०३१ सालमा बाँध फुटेपछि ३९ सालमा यूएनडीपीको सहयोगमा मर्मत गरिएको थियो । अहिले फेरि मर्मत गर्न लागिएको छ,’ आचार्यलय क्लिकमाण्डूसँग भने ।

उनका अनुसार पर्वतको हरिवशु निर्माण सेवाले बाँध मर्मतको जिम्मा लिएको छ । फेवा सिँचाइ परियोजना अन्तर्गतको २ करोड रुपैयाँमध्येबाट १ करोड रुपैयाँ बाँध मर्मत र १ करोड रुपैयाँ नहर सिँचाइ परियोजनामा खर्च भएको छ ।

बाँध निर्माणका लागि फेवातालको पानीको सहत १ मिटर कम गरिएको छ । जसका कारणले त्यहाँ रहेका माछालगायतका जीवजन्तुमा असर परेको छ । पानीको सहत १ मिटरसम्म घटेको र अब घटाउन नपर्ने आचार्यले बताए ।


क्लिकमान्डु