दिगो विकासका लक्ष्य प्राप्तिका लागि ३ वटै सरकारको संयुक्त प्रयास जरुरीः उपाध्यक्ष कँडेल



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तीन वटै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् ।

आइतबार दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६-२०१९ र दिगो विकास लक्ष्यः स्थानीयकरण स्रोतपुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि संघ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी स्थानीय सरकारलाई दिगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनले बताए ।

उपाध्यक्ष कँडेलले नेपालको सामाजिक सूचक माथि गइसकेकोले देशलाई अल्पविकसित देशबाट विकासशील देशतर्फ जानुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि प्रतिस्पर्धी क्षमतालाई विकास गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलले दिगो विकास लक्ष्य प्राप्तिको लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको बातावरण बनाउनुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व भन्दै निजी क्षेत्रले निकै पैसा खर्च गर्ने भएकाले ती लगानीलाई एकीकृत गर्ने र खर्चको अनुगमन गर्ने हो भने आर्थिकरुपमा समस्या नहुने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले दिगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको बताए ।

उनले उद्योग क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान घटेको तथा प्रजनन उमेरका महिलाहरुमा रक्तअल्पताको स्थिति र ५ वर्ष मुनिका बालबालिकाहरुको रक्तअल्पताको स्थिति लक्ष्य अनुसारको प्रगति हासिल हुन नसकेको उनको भनाइ छ ।

सदस्य सचिव भण्डारीले दिगो बिकास लक्ष्य प्राप्तिको कुरा जताततै दस्तावेजीकरण गरिएको भएपनि काम गर्ने शिलशिलामा कठिनाईहरु देखिएको बताए ।


क्लिकमान्डु