ऋण तिर्न एनबी ग्रुपपले एनसीसी बैंकको २५ लाख कित्ता सेयर बेच्दै



काठमाडौं । व्यापारिक घराना एनबी ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न एनसीसी बैंकको सेयर बिक्री गर्न लागेको छ ।

ग्रुपले आइतबार एनसीसी बैंकको २५ लाख कित्ता सेयर प्रतिकित्ता १४० रुपैयाँका दरले बिक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बोलपत्रमा भाग लिनेले सो रकम भन्दा बढी प्रस्ताव गर्नुपर्ने छ । प्रतिकित्ता १४० रुपैयाँका दरले हिसाब गर्दा २५ लाख कित्ताकै मूल्य ३५ करोड रुपैयाँ हुन आउँछ ।

खासगरी, नविल बैंक ऋण असूली गर्न आक्रमक भएपछि एनबी ग्रुपका लक्ष्मीबहादुर र जीतबहादुर श्रेष्ठ सेयर बेचेरै भए पनि ऋण चुक्ता गर्न तयार भएका हुन् ।

डेढ दशकअघि नविल बैंकबाट लिएको १६ करोड ऋण बढेर अहिले ५० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । ऋण असूली नभए पनि लामो समय नविल बैंकले लिलामी प्रक्रिया अघि बढाएको थिएन । तर, अहिले नविल बैंक ऋण असूलीमा आक्रमकरुपमा प्रस्तुत भएको छ ।

नविल बैंकको व्यवस्थापनले लिलामी प्रक्रियामार्फत् भए पनि ऋण असूली गरिछाड्ने चेतावनी दिएपछि एनबी समूह ऋण चुक्ता गर्न सहमत भएको हो ।

एनबी समूहले केही समयअघि नविललाई पत्राचार गर्दै २७ करोड रुपैयाँ तिर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेको थियो । तर, बैंकले उक्त रकममा सेटलमेन्ट गर्न नसकिने जवाफ दिएपछि एनबी समूहलाई तनाब भएको हो । तर अहिले ३५ करोड रुपैयाँको हाराहारीमा सेटल गर्ने फाइनलजस्तै भएको छ ।

एनबी ग्रुप र अरु केही कर्पोरेट क्लाइन्टबाट ऋण असूली गर्दा नविल बैंकको नाफा थप १ अर्ब रुपैयाँले बढ्छ । लामो समय नाफाका आधारमा पहिलो नम्बरमा रहेको नविल बैंकलाई यो वर्ष नाफामा पहिलो बन्ने ठूलो चुनौति थियो ।

‘यो वर्ष रिकोभरीबाटै नविल बैंकले १ अर्ब बढी आम्दानी गर्छ,’ बैंक स्रोतले भन्यो ।

कुनै समय निकै जल्दोबल्दो रहको एनबी ग्रुप कमजोर ब्यवस्थापनका कारण बिजनेशमा असफलतासँगै बदनामी कमाएको छ । एनसीसी बैंकका अहिले एनबी ग्रुपको ७५ लाख कित्ता सेयर छ । २५ लाख कित्ता बिक्री गरेपछि यो समूहको स्वामित्व ५० लाख कित्तामा झर्नेछ ।

उक्त सेयर किन्न चाहनेले फागुन २ गतेदेखि ९ गतेसम्म प्रस्ताव पेश गर्नुपर्ने छ । न्यूनतम १ हजार अधिकतम सबै सेयर खरिदका लागि प्रस्ताव पेश गर्नुपर्ने सेयर बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

पछिल्ला केही महिना नविल बैंकले एनसीसी बैंकलाई एक्वायर गर्ने चर्चा छ ।


पुष्प दुलाल