विशाल प्लास्टोक्याबको आम्दानी १६ करोडले घट्यो



काठमाडौं । विशाल प्लास्टोक्याब कम्पनीको आम्दानी १६ करोड रुपैयाँले घटेको छ ।

सन् २०१९ मा ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२० मा जम्म ३८ करोड ७० लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । कम्पनीले सन् २०१८ मा ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्लास्टिकका पाइप, केबलगायतका सामग्री उत्पादन गर्दै आएको कम्पनीले कोरोना महामारीका कारण उद्योग राम्रोसँग चल्न नसक्दा घाटा बेहोरेको हो । यसअघि कम्पनीले सन् २०१६ देखि २०२० को अवधिलाई हेर्ने हो भने ७ प्रतिशतले आम्दानी बढाएको देखिन्छ ।

कम्पनीबाट उत्पादिन पाइप र वायरहरु खासगरी निर्माण क्षेत्रमा बढी प्रयोग हुँदै आएको छ । कम्पनीले मुख्य गरी भारत र तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर थानकोटको उद्योगबाट उत्पादन गर्दै आएको छ ।

हाइड्रोपावर, निर्माण, बैंक तथा बीमा कम्पनीमा समेत लगानी विस्तार गरेको समूहले सञ्चालन गरिरहेको यो कम्पनीले सन् २०२० मा अपेक्षाकृत आम्दानी गर्न नसक्दा वित्तीय अवस्था कमजोर बनेको इक्राको रेटिङले देखाएको छ ।
कम्पनीले हालै ६२ करोड ५० लाखरुपैयाँ ऋणका लागि रेटिङसमेत गराएको छ ।

थानकोटमा उद्योग रहेको कम्पनीका पोखरामा समेत ब्राञ्च स्थापना गरेको छ ।

कम्पनीमा मुख्य गरी तातेर परिवारका ४ जनाको लगानी छ । जसमा बछाराज तातेर र विवेक तातेरको ३०/३० प्रतिशत र विशाल तातेर र सौरभ तातेरको २०/२० प्रतिशत लगानी छ ।


पुष्प दुलाल