राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध उत्रिए कर्मचारी, गेटमै घेराउ



काठमाडौं । राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल १० महिना नपुग्दै उनको निर्णयविरुद्ध उत्रिएका छन् ।

आन्तरिक बढुवा आफू नजिकका कर्मचारीलाई गरिएको भन्दै केन्द्रीय बैंकका अन्य कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाउने समेतका कार्य गरिरहेका छन् ।

राष्ट्र बैंकमा गत माघ २१ गते प्रशासन सेवातर्फ रिक्त रहेको पदमा ५ जना सहायक निर्देशकबाट उप–निर्देशकहरुको बढुवा भएको थियो ।

राष्ट्र बैंक कर्मचारी विनियमावली अनुसार बढुवा कार्यसम्पादन मूल्यांकन र बरिष्ठताको आधारमा गरिने पदपूर्तिका लागि बढुवा दरखास्तमा उल्लेख गरिएको थियो ।

तर गभर्नर अधिकारीले सोको कार्यन्यवन नगरी आफूखुसी बढुवा गरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ विरोधमा उत्रिएको हो ।

रिक्त रहेको उप–निर्देशकमा कार्यसम्पादन मूल्यांकन १८९.७१ अंक प्राप्त गर्ने १५ जना सहायक निर्देशकलाई बढुवा गरिएको उल्लेख छ ।

तर गभर्नर अधिकारीले आफ्नो कार्यालयमा जिम्मेवारी समेत राम्रोसँग पुरा नगर्ने एक जना चार्टर्ड एकाउण्टेन्ड सहायक निर्देशकलाई भनसुनको आधारमा बढुवा गरेको राष्ट्र बैंकै कर्मचारीहरुको आरोप छ ।

‘गभर्नर अधिकारीले बरिष्ठतामा ७५ नम्बरमा रहेका नियमन विभागका चार्टर्ड एकाउण्टेन्ड साहायक निर्देशक जगदिश कुमारलाई १४ नम्बरमा ल्याएर वढुवा गरी उप निर्देशक बनाएका छन्,’ गभर्नरविरुद्ध आन्दोलन गरिरहेका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘उनी राष्ट्र बैंकका सञ्चालक सुवोधलाल कर्णका आफन्त हुन् । जगदिश कार्यालयमाभन्दा बढी त बिदामै हुन्छन् । जिम्मेवारी पूरा गरेको रेकर्ड छैन ।’

आफ्नो जिम्मेवारी नै राम्रोसँग बहन नगर्ने कर्मचारीलाई कार्यसम्पादन मुल्यांकनमा कसरी १४ नम्बरमा नाम आएको भन्ने प्रश्न सबै कर्मचारीले गभर्नरलाई तेर्स्याएको उनको दाबी छ ।

राष्ट्र बैंकमा हाल ८६ जना सहायक निर्देशक छन् । जगदिश कुमार बाहेक वढुवा भएका १४ जना सहायक निर्देशकको बढुवा बरिष्ठताको आधारमा भएको तर गभर्नरले संचालकको आफ्नो मान्छे र चाटर्ड एआउन्टेण्ड भएकै कारण ७६ नम्बरमा रहेका जगदिश कुमारलाई १४ नम्बरमा ल्याएर बढुवा गरेको ती कर्मचारीले गुनासो गरे ।

‘हिँजो गभर्नरलाई गेटमै घेराउ गरेर कर्मचारी संगठनका साथीहरुले प्रश्न गर्दै निर्णय सच्याउन पत्र बुझाएका थिए,’ ती कर्मचारीले थपे, ‘गभर्नरले आइतबार पत्रको जवाफ दिने भनेका छन् ।’

गभर्नरले जगदिश कुमारलाई बरिष्ठताको आधारमा बढुवा हुनु पर्ने सहायक निर्देशक इमबहादुर क्षेत्रीको स्थानमा बढुवा गरेको राष्ट्र बैंकका ती कर्मचारीले बताए । 


पुष्प दुलाल