कोरोनाले ह्वात्तै घटायो जगदम्बा सिमेन्टको बिक्री, १ अर्ब ६१ करोड ऋणको रेटिङ गरायो



काठमाडौं । सिमेन्टको उत्पादन तथा बिक्रीमा कोरोना भाइरसको निकै ठूलो असर देखिएको छ । नेपालको लोकप्रिय ब्राण्ड जगदम्बा सिमेन्टको बिक्री ह्वात्तै घटेको तथ्यले कोरोनाको असर कतिसम्म पर्यो भन्ने पुष्टि गर्छ ।

सन् २०१६ मा २ अर्ब ६७ करोड ८० लाख, २०१७ मा ९७ करोड ९० लाख र २०१८ मा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ बराबरको जगदम्बा सिमेन्टको बीक्री भएको थियो ।

सन् २०१९ मा ३ अर्ब ७९ करोड ४० लाख रुपैयाँको बिक्री गर्न सफल भएको जगदम्बा सिमेन्टले सन् २०२० मा भने जम्मा २ अर्ब ४४ करोड रुपैयाँको मात्रै बिक्री गरेकोछ । एक वर्षमा कम्पनीको बिक्री १ अर्ब ३५ करोड ४० लाख रुपैयाँले घटेको हो ।

सन् २०२० को शुरुदेखि कोरोना भाइरसको असर विश्वव्यापीरुपमा देखिन थालेको थियो । नेपालमा पनि २०२० को मार्च अन्तिम सातादेखि सरकारले लकडाउन गरेको थियो । जसको असर कम्पनीको उत्पादन र बिक्रीमा देखिएको हो ।

सन् २०२० मा ठूलो असर परे पनि २०२१ को शुरुवातमा १ प्रतिशतले बिक्री बढेको छ । जुन सुखद संकेत हो । कम्पनीसँग दैनिक १ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

सन् २०१७ देखि २०१९ सम्म उद्योगले उत्पादन क्षमताको ९० प्रतिशतसम्म चल्यो । तर, कोरोनाका कारण सन् २०२० मा भने क्षमताको ७० प्रतिशतमात्रै चलेको छ । २०२१ लागेपछि क्षमताको ८० प्रतिशत चल्न थालेकोछ ।

पछिल्लो समय बैंकको ब्याजदर घटेका कारण उद्योगलाई केही राहत मिलेपछि कच्चा पदार्थको मूल्यमा आएको उत्तारचढावको असर भने परेकोछ ।

सिमेन्ट उद्योगबीच तीब्र प्रतिस्पर्धा र पछिल्ला वर्षहरुमा घट्दै गएको उत्पादन र बिक्री नै कम्पनीको मूख्य चुनौति रहेको इक्रा नेपालले जनाएको छ । जगदम्बाले सर्बोत्तम सिमेन्टसँग खानीमा आधारित सिमेन्ट किन्दै आएको छ ।

संसद विघटन र मध्यावधि चुनावका कारण सरकारको पुँजीगत खर्च कम हुनसक्ने भएकाले यसले सिमेन्ट तथा निर्माण सामाग्रीको मागलाई असर गर्ने देखिन्छ । जसकारण कम्पनीको नगद प्रवाहमा चुनौतिहरु आउनसक्ने संभावना छ ।

जगदम्बा सिमेन्टले बैंकबाट ऋण लिनका लागि रेटिङ गराएको छ । इक्रा नेपालले १ अर्ब ६१ करोड ५० लाख रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको हो । यसअघि कम्पनीले १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको कम्पनीले अहिले ऋणको सीमा बढाएको हो ।

इक्राले जगदम्बालाई ए प्लस रेटिङ गरेको छ । जुन राम्रो मानिन्छ ।

यो कम्पनीमा नेपालका दुई ठूला व्यापारिक घराना शौरभ ग्रुप र शंकर ग्रुपको लगानी रहेको छ । यी दुवै समूहले २ दशकभन्दा लामो समयदेखि उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका छन् । उद्योग भैरवहाको गोहना गाविसमा छ ।


पुष्प दुलाल