२२ वटा बैंकबाट सरकारले १० अर्ब रुपैयाँ ऋण उठायो, कुन बैंकबाट कति ?



काठमाडौं । सरकारले २२ वटा बैंक तथा वित्त कम्पनीबाट आन्तरिक ऋण उठाएको छ ।

माघ १८ गते सरकारले राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ बरारबरको विकास ऋणपत्र जारी गरेको थियो । जसको माघ २० गते बोलकबोलमार्फत् ब्याजदर तय गरी बाडफाँड भएको थियो ।

राष्ट्र बैंकका अनुसार १० अर्बको माग गरिएको विकास ऋणपत्र २०५३ ‘ग’ मा ६० अर्ब २५ करोड रुपैयाँ बराबरको २ सय ७२ वटा आवेदन परेको थियो ।

जसमध्ये वाणिव्य बैंकहरुले १ सय ६८ वटा, विकास बैंक ५९ वटा र फाइनान्स कम्पनीहरुले ४५ वटा गरी ४४ वटा बैंक तथा वित्त कम्पनीले आवेदन दिएका राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

प्राप्त आवेदनमा १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक र ३ वटा विकास बैंकको आवेदन राष्ट्र बैंकले स्वीकृत गरेको छ । २०८३ माघ २१ गते परिपक्क हुने सो विकास ऋणपत्रको ब्याजदर औषतमा ३.९० प्रतिशत तय गरिएको भट्टले जानकारी दिए ।

कुन बैंकले कति खरिद गरे विकास ऋणपत्र ?

सरकारको उदेश्य अनुसार आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्र २२ वटा बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाएका छन् । जसमा सबैभन्दा बढी ज्योति विकास बैंकले १ अर्ब २ करोड ४० लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब रुपैयाँ र गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गरेका हुन् ।

साथै, सो ऋणपत्र सेञ्चुरी बैंकले ८० करोड रुपैयाँ, नेपाल बैंकले ८० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५६ करोड रुपैयाँ, प्राइम बैंकले ५० करोड रुपैयाँ र कामना सेवा विकास बैंकले ५० करोड रुपैयाँ बराबरको खरिद गरेका छन् ।
यसैगरी, आइसीएफसी फाइनान्सले ५० करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ५० करोड रुपैयाँ, हिमालयन बैंकले ४० करोड रुपैयाँ, एभरेष्ट बैंकले ४० करोड रुपैयाँ र साइनरेसुङ्गा विकास बैंकले ४० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गरेका छन् ।

साथै, एनसीसी बैंकले ३० करोड रुपैयाँ, रिलायन्स फाइनान्सले ३० करोड रुपैयाँ, नेपाल बंगलादेश बैंकले २५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट बैंकले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र खरिद गरेका हन् ।

६ वर्षको लागि जारी गरिएको उक्त विकास ऋणपत्र बैंक अफ काठमाण्डूले २५ करोड रुपैयाँ, गुडविल फाइनान्सले १३ करोड रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १० करोड रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले ३ करोड रुपैयाँ र सिटिजन्स बैंकले ६० लाख रुपैयाँ बराबर खरिद गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


पुष्प दुलाल