तिनकुनेको कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड



काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छे बैंकले राजधानिको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।

बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यूले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरे ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले शुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुँदा भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताए ।

साथै उनले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराए ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले तरकारी तथा फलफुल बजारमा शुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ«े बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरि सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले शुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पहुँच पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तरकारी किनेर क्युआर कोडमार्फत उक्त तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए । सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा शुरु भइसकेको छ ।


पुष्प दुलाल