फागुन १ देखि निजी र साझेदारी फर्म दर्ता जिल्लास्थित उद्योग कार्यालयबाट हुने



काठमाडौं । बागमति प्रदेशभित्रका निकासी पैठारी व्यापार बाहेकका निजी र साझेदारी फर्म दर्ता तथा नियमनको कार्य जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट सञ्चालन हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी फागुन १ गतेदेखि बागमति प्रदेश उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय अन्र्तगतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूबाट सञ्चालन गर्ने भएको हो ।

वाणिज्य प्रशासन सम्बन्धि कार्य जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट एवं हस्तान्तरण गर्नका लागि ‘वाणिज्य प्रशासन सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणा पत्र तथा कार्ययोजना, २०७७’ को गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको जनाउँदै विभिन्न कार्ययोजना हस्तान्तरण गर्ने कार्ययोजना बनाएको छ ।

विभागका अनुसार निकासी पैठारी व्यापार बाहेकका निजी तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात क्रमशः हस्तान्तरण गरिने व्यवस्था गर्ने भएको छ ।

त्यस्तै, विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजी सम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म यसै विभागबाट सञ्चालन हुने विभागको भनाइ छ । साथै, विभागमा दर्ता भई सञ्चालनमा रहेका यस्ता व्यापारिक फर्महरूलाई क्रमशः हस्तान्तरण गरिने विभागले उल्लेख गरेको छ ।

त्यसैगरी, वागमति प्रदेश अन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयहरूमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापारमुलक (निकासी पैठारीसँग सम्बन्धित) फर्महरुको सक्कलै फाइल सहित २०७८ असारमसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुने विभागले जनाएको छ ।


क्लिकमान्डु