६ महिनामा ५ हजार फर्म दर्ता, साढे ३ करोड बढी राजश्व संकलन



काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कम्पनी स्वीकृत, एजेन्सी फर्म, साझेदारी फर्म र प्राइभेट फर्म गरी ५ हजार ४७ फर्म दर्ता भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वाणिज्य व्यवस्थापन तथा नियमन शाखाको तथ्याङ्क अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा उक्त फर्म दर्ता भएको हो ।

विभागका अनुसार साउनदेखि पुससम्ममा ६३२ कम्पनीले स्वीकृत लिएका थिए । जसमा पुसमा मात्रै १४० व्यवसायीले कम्पनीको स्वीकृत लिएका थिए । जसबाट पुस महिनामा १९ लाख ७२ हजार राजश्व संकलन गरेको छ । साथै, चालु आवको ६ महिनाको अवधिमा विभागले कम्पनी स्वीकृतबाट १ करोड २८ लाख ३७ हजार राजश्व संकलन गरेको छ ।

त्यस्तै, ६ महिनाको अवधिमा २१ वटा कम्पनी संशोधन गरेको छ भने उक्त संशोधन कार्यबाट ४ लाख २८ हजार राजश्व संकलन गरेको छ । साथै, १६ वटा कम्पनीको प्रतिलिपि गरेबापत ६९ हजार ३०० राजश्व संकलन गरेको छ ।

त्यसैगरी विभागले दर्ता, संशोधन, प्रतिलिपि गरी ६६९ को कम्पनी स्वीकृत गरेको छ भने उक्त कार्यबाट १ करोड ३३ लाख ३४ हजार राजश्व संकलन गरेको विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी विभागमा चालु आवदेखि पुससम्ममा ६५ वटा एजेन्सी फर्म दर्ता भएका छन् । जसमा पुस महिनामा ११ वटा फर्म दर्ता भएका थिए । साथै, विभागले पुसमा १६ सय ९० मात्रै राजश्व संकलन गरेको छ ।

विभागले पुससम्ममा ८ वटा फर्मको प्रतिलिपि लिएका छन् भने १८ सय १५ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, विभागले चालु आवदेखि पुससम्ममा ७३ वटा फर्म दर्ता तथा प्रतिलिपि तयार गरेको छ भने ३५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

पछिल्लो समय साझेदारी फर्म दर्ता गरी व्यवसाय गर्नेको संख्या पनि उल्लेखनीय रहेको छ । जसमा ६ महिनाको अवधिमा विभागमा १३१ साझेदारी फर्म दर्ता भएका छन् । जसबाट विभागले ८ लाख ५८ हजार ६०० रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार पुस महिनामा मात्रै २२ वटा साझेदारी फर्म दर्ता भएका छन् । उक्त एक महिनाको अवधिमा १ लाख २२ हजार राजश्व संकलन गेरेको थियो । त्यसैगरी, ६ महिनाको अवधिमा ३०६ वटा साझेदारी फर्मको नवीकरण, ४१ वटा फर्मको संशोधन र २९ वटा फर्म खारेजी गरेको छ । विभागले उक्त सबै कार्यबापत २० लाख ९७ हजार राजश्व संकलन गरेको छ ।

त्यसैगरी कोरोनाले थलिएको अवस्थामा पनि उल्लेखनीय प्राइभेट फर्म दर्ता भएका छन् । चालु आवदेखि पुससम्ममा ४ हजार २ सय १९ प्राइभेट फर्म दर्ता भएका छन् । त्यसमध्ये पुसमा मात्रै १६ सय ४५ फर्म दर्ता भएका छन् । विभागको तथ्याङ्क अनुसार चालु आवदेखि पुस मसान्तसम्ममा ५ हजार ६ सय ९० नवीकरण, १७ सय ४२ प्रतिलिपि, स्थानान्तरण ५ सय ९९ र ७ सय ८ वटा फर्म खारेजी गरेको देखाउँदछ ।

विभागले दर्ताबाट ३७ लाख ८१ हजार, नवीकरणबाट ८३ लाख ५२ हजार, संशोधनबाट ४२ लाख ६० हजार, प्रतिलिपिबाट १ लाख ५६ हजार र खारेजीबाट ६९ लाख १२ हजार रुपैयाँ गरी पुससम्ममा २ करोड ३४ लाख ६४ हजार राजश्व संकलन गरेको छ ।

साढे ३ करोड बढी राजश्व संकलन
विभागले चालु आवको ६ महिनाको अवधिमा ३ करोड ८८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले कम्पनी स्वीकृत, एजेन्सी फर्म, साझेदारी फर्म र प्राइभेट फर्म दर्तालगायत अन्य विभिन्न कार्य गरेर उक्त राजश्व संकलन भएको हो ।

जसमा कम्पनी स्वीकृतबाट १ करोड ३३ लाख ३४ हजार रुपैयाँ, एजेन्सी फर्मबाट ३५ सय रुपैयाँ, साझेदारी फर्मबाट २० लाख ९७ हजार रुपैयाँ र प्राइभेट फर्मबाट २ करोड ३४ लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको तथ्याङ्क अनुसार प्राइभेट फर्मबाट सबैभन्दा बढी काम भएको र सोही अनुसार राजश्व संकलन भएको विभागको भनाइ छ ।


क्लिकमान्डु