करेक्सनपछि २४ अंकले उक्लियो नेप्से, होटलमा सबैभन्दा बढी आकर्षण



काठमाडौं । आइतबार घटेको बजारमा सोमबार भने हरियाली छाएको छ । साताको दोस्रो दिनको कारोबार हुँदा नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ ।

सोमबारको कारोबारमा माइक्रोफाइनान्स र म्यूचुअल फन्डबाहेक सबै समूहमा उछाल देखिएको छ । सबैभन्दा बढी होटल क्षेत्रमा ८.७६ प्रतिशतको वृद्धि भएको छ । त्यसैगरी विकास बैंक, फाइनान्स, जीवन बीमा कम्पनीको सेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

आज कुल ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ रुपैयाँको कारोबार भएको छ । जसमा १२९ कम्पनीको लगानीकर्ताले कमाउँदा ३३ कम्पनीको लगानीकर्ताले गुमाएका छन् भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज सबैभन्दा बढी कमाउनेमा सेञ्चुरी कमर्सियल बैंक छ । जसको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २५३ रुपैयाँ पुगेको छ । मर्जरको हल्लासँगै बैंकको सेयर बजारमा उछाल देखिएको हो । त्यसैगरी प्रोग्रेस फाइनान्सको सेयर पनि १० प्रतिशतले बढेको छ । त्यसैगरी पोखरा फाइनान्स, प्रभु लाइफ र माउन्टेन इनर्जीको सेयरमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

आइतबार बजार घटेसँगै धितोपत्र बोर्डले टी प्लस टुको कार्यान्वयनका सम्बन्धमा कडाइका साथ निर्देशन दिएको थियो । बोर्डको निर्देशनसँगै सेयर बजारमा पनि हरियाली देखिएको हो ।


क्लिकमान्डु