२ दिन विदाबारे पर्यटनमन्त्री भन्छन्- त्यतिमा काठमाडौंबाट कर्णाली पुगेर आउन सकिन्छ ?



काठमाडौं । आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि कर्मचारीलाई २ दिन विदा दिने पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले ल्याएको प्रस्तावले निकै चर्चा पायो । भट्टराईले त्यसलाई महत्वका साथ प्रस्ताव ल्याएका थिए ।

कोरोनाका कारण थलिएको आन्तरिक पर्यटन उकास्न उक्त योजना सहयोगी हुने मन्त्री भट्टराईको अपेक्षा थियो । तर उक्त विषयलाई बजेटमा सम्बोधन भएन । न त त्यसपछि मन्त्री भट्टराईले उक्त योजनालाई अगाडि बढाउन नै सके ।

प्रतिनिधिसभा विघटनपछि पुस ५ गते पर्यटनमन्त्रीबाट राजीनामा दिएपछि यो विषय करिब सकिए जस्तै भयो ।

त्यसपछि मन्त्रालय सम्हालन आएका मन्त्री भानुभक्त ढकालले त्यसलाई अगाडि बढाउन खासै चासो देखाएनन् । शुक्रबार मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले २ दिनमा काठमाडौंबाट कर्णाली पुगेर आउन सकिन्छ भन्दै विदाको प्रस्तावबारे अनिच्छा प्रकट गरे ।

‘काठमाडौंबाट कर्णाली घुम्न हिँडेको मान्छे नेपालगञ्जबाटै फर्कन त भएन नि, त्यसैले २ दिन विदा दिने प्रस्ताव पर्यटन विकासमा सहयोगी हुन्छ भन्ने लाग्दैन,’ उनले भने ।

बरु उनले त विदाको उक्त प्रस्तावलाई संशोधन गरी बरु घुम्नकै लागि भए पनि वर्षमा ४÷५ दिन छुट्टाइदिन सकिने बताए । यसो हुँदा व्यक्ति परिवारसँग मज्जाले घुम्न सक्ने उनको तर्क थियो ।


क्लिकमान्डु