सानिमा बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । सानिमा बैंकको नाफा ७.३८ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तमा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ८ करोड ४६ लाख रुपैयाँले घटेर १ अर्ब ६ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा समेत घटेको छ ।

गत आवको पुस मसान्तमा २ अर्ब १६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ७.९८ प्रतिशतले ब्याज आम्दानी घटेर १ अर्ब ९९ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।

साथै, गत आवको पुस मसान्तमा बैंकले २ अर्ब ५९ करोड ५१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब ५६ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ७ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन र ९० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिसम्ममा बढेर ०.५८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको बेस रेट ६.८३ प्रतिशत, स्प्रेडरेट ४.२१ प्रतिशत, सीसीडी रेसीयो ८१.६० प्रतिशत र कष्ट अफ फण्ड ५.१६ प्रतिशत रहेको छ ।

साथै, चालु आवको पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०२ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४० रुपैयाँ २८ पैसा, र मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।


क्लिकमान्डु