कुमारी बैंकको नाफा साढे ५१ प्रतिशतले बढ्यो, इपीएस १७.५३ रुपैयाँ



काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ५१.५० प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा ४१ करोड ३५ लाख रुपैयाँ नाफा बढाएर १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ पुर्याएको हो ।

६ महिनाको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा भने बैंकले ६३ करोड ७५ लाख रुपैयाँ गरेको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सो अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ छ ।

यसैगरि, गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन ५.३० प्रतिशत र कर्जा लगानी तर्फ ३.६३ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले ब्याज आम्दानीमा गत आवको ६ महिनाको तुलनामा ३७.०२ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ६७ करोड ४८ लाख रुपैयाँले ब्याज आम्दानी बढाएर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुर्याएको हो । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.०२ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा १.०४ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधीको यस्तो अनुपात १.०६ प्रतिशत पुगेको छ ।

साथै पुस मसान्तसम्म बैंकको आधारदर ७.९७ प्रतिशत, स्प्रेडदर ३.५८ प्रतिशत र सीसीडी रेसियो ७६.१५ प्रतिशत रहेको छ ।

सो अवधिमा बैंकको कष्ट अफ फण्ड ५.८२ प्रतिशत, प्रतिशसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ३० रुपैयाँ ८२ पैसा छ ।


क्लिकमान्डु