सरकारले तोक्यो तारे होटलमा मापदण्ड, एक मिनेटभित्रै नमस्कार, ३ घण्टीमा फोन उठ्नैपर्ने



काठमाडौं । सरकारले तारे होटलको नयाँ मापदण्ड निर्धारण गरेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक तारेदेखि पाँच तारे होटलसम्मको मापदण्ड निर्धारण गरेको हो ।

सरकारले विभिन्न १५८ वटा मापदण्ड निर्धारण गरेको हो । जसमध्ये बैंकेट हल, सपिङ आर्केड, स्थानीय धुन, मनोरञ्जन, चिकित्सक सेवा, ब्यूटी सलुन, स्वीमिङ पुल, शारीरिक व्यायम, स्टाफ डाइनिङ, लकर रुम, युनिफर्म, स्वास्थ्य परीक्षण, प्राथमिक उपचारलगायतका मापदण्ड तोकिएको छ ।

त्यसैगरी तालीम, अपरेसनमा काम गर्ने कर्मचारी, सुपरभाइजर, विभागीय प्रमुखलगायतका विषयमा पनि मापदण्ड तोकेको छ । सरकारले तोकेको मापदण्डमा होटल अनुसार मापदण्ड फरक तोकिएको छ ।

जसमध्ये खानेकुरालाई राम्रोसँग पकाइएको र त्यसको तापक्रम ७५ डिग्री सेल्सियस पुगेको तथा बुझे खानेकुरालाई २ घण्टाभन्दा बढी समय राख्नु परेमा त्यसको तापक्रम ६२ डिग्री सेल्सियस वा सोभन्दा बढी भएको हुनुपर्नेछ ।

त्यसैगरी पार्किङको हिसाबले एक तारे होटलमा ५ वटा चार पांग्रे सवारी साधनदेखि ५ तारे होटलमा कम्तीमा ४० वटा चार पांग्रे सवारी साधन पार्किङको क्षमता हुनुपर्नेछ ।

त्यसैगरी तीन तारेभन्दा माथिको होटलमा कम्तीमा ३० वटा देशका झण्डा राख्नका लागि पोलहरुको व्यवस्था हुनुपर्नेछ । होटल सञ्चालन २४ घण्टा नै हुनुपर्नेछ भने तीन तारेभन्दा माथिका होटलमा अन्तर्राष्ट्रिय मापदण्डका खेलहरु खेल्न मिल्ने गरी विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खेलकुदको सुविधा भएको हुनुपर्नेछ ।

सबै तारे होटलमा बढीमा तीन घण्टीभित्रमा टेलिफोन उठ्ने व्यवस्था हुनुपर्नेछ भने टेलिफोनमा सम्बोधन, अभिभावन तथा आफ्नो आउटलेटको नाम लिने व्यवस्था हुनुपर्नेछ । गेस्ट आगमन भएको एक मिनेटभित्र नमस्कार सहितको अभिवादन गर्ने व्यवस्था मिलाइएको हुनुपर्नेछ ।


क्लिकमान्डु