शुक्रबारबाट लाइसेन्सको लागि अनलिमिटेड अनलाइन फर्म भर्न सकिने



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि शुक्रबार (भोलि) अनलिमिटेड अनलाइन फर्म भर्न सकिने व्यवस्था गर्ने गरेको छ । यातायात व्यवस्था विभागले आज एक सुचना जारी गर्दै भोलिबाट अनलिमिटेड अनलाइन फर्म भर्न सक्ने जनाएको हो ।

विभागले आइतबारबाट अनलिमिटेड फाराम भर्न सक्ने भनिएको थियो । तर, प्राविधिक कारणले गर्दा आइतबारबाट शुरु गर्ने नसकेको हुनाले सबै प्राविधिक तयार गरी भोलिबाट शुचारु गर्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।

विभागले हालसम्म लाइसेन्सको आवेदन फारम भर्नको लागि कोटा सिस्टम तोकेको थियो । उक्त कोटा सिस्टमको समयमा सहज ढङ्गबाट फारम भर्न नसकेको गुनासो सेवाग्राहीबाट आएपछि अनलिमिटेड फारम भर्न सक्ने व्यवस्था मिलाएको भुसालले बताए ।

तर, शुक्रबारबाट भने बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन् । कोरोनाले गर्दा लामो समयसम्म सेवा प्रवाह हुन नसक्दा धेरै मानिसले लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । विभागले गत पुस १४ गतेदेखि अनलाइन फारम भर्न खुल्ला गरेको थियो ।

जसमा अत्याधिक सेवाग्राहीको चाँपले गर्दा सर्भर डाउनलगायत विविध समस्या आइरहेको गुनासोलाई सम्बोधन गर्दै भोलिबाट अनलिमिटेड फारम भर्न सक्ने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

त्यसैगरी, सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने सेवाग्राहीहरूले नियमित रुपमा प्राप्त गरेको एसएमएस सेवामा प्राविधिक कारणले केही समयको लागि बन्द गरिएको विभागले जनाएको छ ।

‘विभागको नेपाल टेलिकमसँगको सम्झौता सकिएकाले उक्त एसएमएस सेवा बन्द भएको छ,’ भुसालले क्लिकमान्डूसँग भने, ‘विभागले नयाँ सम्झौता गर्ने भएको छ । त्यसैले केही दिनको लागि उक्त सेवा अवरुद्द हुनेछ ।’

हालको लागि एसएमएस नआएको खण्डमा सेवाग्राहीले अनलाइनबाट प्राप्त रेजिष्ट्रेसन नम्बर सुरक्षित राखि सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु