सिजिटन्स बैंकको नाफा २७.२६ प्रतिशतले बढ्यो, अन्य विवरण कस्तो ?
काठमाडौं । सिजिटन्स बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २७.२६ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले गत आवको पुस मसान्तमा ६८ करोड ७७ लाख रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा १८ करोड ७४ लाख रुपैयाँ नाफा बढाएर ८७ करोड ५१ लाख रुपैयाँ पुर्याएको हो ।
बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सो अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड ९६ लाख रुपैयाँ छ ।
यसैगरि, गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन १८.८५ प्रतिशत र कर्जा लगानी तर्फ ११.२७ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकले ब्याज आम्दानीमा गत आवको ६ महिनाको तुलनामा १२.३९ प्रतिशतले वृद्धि गरेको छ । गत आवको ६ महिनामा १ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १७ करोड ७८ लाख रुपैयाँले ब्याज आम्दानी बढाएर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पुर्याएको हो । बैंकको वितरण योग्य नाफा ६ महिनाको व्यवसायबाट ८४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.४३ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा ०.९९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधीको यस्तो अनुपात २.४२ प्रतिशत पुगेको छ ।
साथै पुस मसान्तसम्म बैंकको आधारदर ८.२५ प्रतिशत, स्प्रेडदर ४.०८ प्रतिशत र सीसीडी रेसियो ७२.९१ प्रतिशत रहेको छ । साथै, सो अवधिमा बैंकको कष्ट अफ फण्ड ६.३८ प्रतिशत, प्रतिशसेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा, मूल्य आम्दानी अनुपात १६.५५ गुणा रहेको छ ।