कर्जा विस्तारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सिभिल बैंकले उछिन्यो, निक्षेपमा एनबी बैंकलाई



काठमाडौं । लामो समय बिजनेशका हिसाबले सबैभन्दा कमजोर रहेको सिभिल बैंकले यो पटक धेरैलाई चकित बनाएको छ ।

पछिल्लो ६ महिनामा बैंकले २९.२५ प्रतिशतले निक्षेप र २६.३४ प्रतिशतले कर्जा बढाएर अन्य दुई बैंकलाई पछि पारेको छ ।

निक्षेप संकलनका हिसाबले २६ वर्ष लामो इतिहास बोकेको नेपाल बंगलादेश बैंकलाई पछि पारेको छ भने कर्जा प्रवाहका हिसाबले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पछि पारेको छ ।

६ महिनामा बैंकहरुको बिजनेश: एनआइसी, प्रभु र सिभिलको छलाङ, पछिपछि सिटिजन्स, सेञ्चुरी र माछापुच्छ्रे

चालू आर्थिक वर्षको पुस मसान्तमा सिभिल बैंकले ७७ अर्ब ७३ कारेडा रुपैयाँ निक्षेप संकलन गरेको छ । मंसिरसम्म नेपाल बंगलादेशकै हाराहारीमा रहेको सिभिलले पुससम्म आइपुग्दा नेपाल बंगलादेश बैंकलाई उछिनेको हो ।

पुस मसान्तमा एनबी बैंकको निक्षेप ७३ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्तको तुलनामा एनबी बैंकको निक्षेप ०.८८ प्रतिशत र कर्जा १.२९ प्रतिशतले बढी हो ।

पुस मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्तको तुलनामा बैंकको निक्षेप १२.३९ प्रतिशतले र कर्जा २.६८ प्रतिशतले कमी हो ।

जबकी पुस मसान्तमा सिभिल बैंकले ६८ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो स्ट्याण्डर्ड चार्टर्डको भन्दा साढे १२ अर्ब रुपैयाँले बढी हो ।


पुष्प दुलाल