अनअराइभल भिसालगायतका १२ वटा निर्णय गर्न पर्यटन मन्त्रालयसँग बोर्डको आग्रह



काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध संस्थाहरुले नेपालको पर्यटन क्षेत्रको छवि उकास्न तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रो सन्देश दिनका लागि पर्यटन मन्त्रालयलाई १२ वटा निर्णय गर्न सुझाव दिएका छन् ।

सोमबार बसेको बोर्ड र संघ संस्थाहरुको बैठकले उक्त निर्णय गरेको हो । जसमा हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल आउने सम्पूर्ण नाकाबाट अनअराइभल भिसा शुरु गर्न माग गरिएको छ । साथै हवाई मार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य गर्न तर ५ वर्षभन्दा मुनीका बालबालिकाकाको हकमा यो नियम लागू नहुने गरी निर्णय गर्न सुझाव दिएको छ ।

त्यसैगरी भारतीय बाहेक अन्य मुलुकका यात्रुहरुले नेपालमा आएपछि पुनः कोरोना परीक्षण गर्नुपर्ने तर रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टिनमा बस्नु नपर्ने गरी निर्णय गर्नुपर्ने उनीहरुको सुझाव छ ।

त्यस्ता यात्रुहरुको स्वाव विमानस्थलमै संकलन गर्नुपर्ने र २४ घण्टाभित्रमा पीसीआर रिपोर्ट दिनुपर्ने समेत उल्लेख छ । भारतीय नागरिकहरुको हकमा नेपाल–भारत ट्राभल बबल सम्झौता अनुसार नियम यथावत राख्न, भारतसँग जोडिएका सम्पूर्ण नाकाहरु खुला गरी स्थलगतमार्गबाट निजी तथा पर्यटकीय सवारीसाधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुहरुको हकमा ९६ घण्टा अवधिको कोरोना नेगेटिभ रिपोर्ट हुनुपर्ने, त्यस्ता यात्रुले नेपालमा पनि कोरोना परीक्षण गर्नुपर्ने उल्लेख छ ।

कोरोना भ्याक्सिन लगाएका यात्रुहरुको हकमा भ्याक्सिनेसन सर्टिफिकेट उपलब्ध भएको खण्डमा पीसीआर रिपोर्ट आवश्यक नपर्ने गरी निर्णय गर्न माग गरिएको छ ।

साथै नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य तथा सम्पूर्ण गतिविधिहरु (होटm, ट्राभल, ट्रेकिङ, हाइकिङ, रेष्टुराँ, स्पा, राफ्टिङ, प्याराग्लाइडिङ, होमस्टे, एड्भेञ्चर एक्टिभिटी, पर्यटकीय सवारी साधन, पार्टी प्यालेस, रात्रिकालीन लगायतका गतिविधिहरु पूर्णरुपमा तोकिएको मापदण्ठ अनुसार सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

पर्यटकको सुविधाका लागि नेपालभित्र आवश्यकता महसुस गरी होटल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर सञ्चालन गर्न सकिने, पर्यटकको अनिवार्य बीमा गरिएको हुनुपर्ने, सबै सर्त पालना गर्नुपर्ने गरी निर्णय गर्न मन्त्रालयसँग माग गरिएको छ ।


क्लिकमान्डु