घरजग्गा कारोबारमा नयाँ रेकर्ड, पुसमै २ लाख १४ कारोबार, अनलाइन प्रणालीको कमाल



काठमाडौं । घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेको छ । भुमि, व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस महिनामा हालसम्मकै अत्याधिक कारोबार हो ।

कोरोना महामारीले अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थामा विभिन्न व्यापारी तथा व्यवसायीको लगानी घरजग्गामा थुप्रिएको घरजग्गा कारोबार गर्ने व्यवसायीहरू बताउँछन् ।

हरेक व्यवसायीको कारोबार गरेको मूल्यमा घटबढ भइरहेता पनि घरजग्गामा भने त्यस्तो नहुने व्यवसायीहरूको भनाइ छ ।

त्यसैगरी, घरजग्गा कारोबार दिन प्रतिदिन बढीरहेको र मूल्य पनि वृद्धि भइरहेको व्यवसायीहरू बताउँछन् । यसले गर्दा पुस महिनामा हालसम्मकै बढी कारोबार भई नयाँ रेकर्ड कायम गरेको छ ।

मंसिर महिनाका देशभरका मालपोत कार्यलयबाट १ लाख ६८ हजार घरजग्गाको कारोबार भएको थियो । उक्त समयमा सरकारले ५ अर्ब १४ करोड राजस्व संकलन गरेको थियो ।

तर पुस महिनामा २ लाख बढी घरजग्गाको कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको छ । विभागका अनुसार पनि पुस महिनाको कारोबार हालसम्मकै हो ।

आर्थिक वर्ष २०७७/७८को पुस महिनामा देशभरका भूमि सुधार तथा मालपोत कार्यालयबाट २ लाख १४ हजार ४६० घरजग्गाको कारोबार भएको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा देशभरका मालपोत कार्यालयबाट १ लाख ५७ हजार ७ सय २७ घरजग्गाको कारोबार भएको थियो ।

गत वर्ष सामान्य अवस्था हुँदा पनि अहिलेको जस्तो कारोबार हुन सकेको थिएन । उक्त समय अवधिको तुलना गर्दा चालु आवको पुस महिनामा करिब ५६ हजार ७ सय ३३ घरजग्गा बढी कारोबार गरेको छ । जुन ७३.५४ प्रतिशतले बढी हो ।

देशभरका विभिन्न १०८ वटा भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपिलगायत अन्य विभिन्न कार्य गरी उक्त कारोबार भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागअन्तर्गत १ सय २६ कार्यालयमध्ये अनलाईन प्रणाली सञ्चालन भएका १ सय ८ कार्यालयहरूको मात्रै कारोबार भएको तथ्याङ्क समावेश रहेको विभागले जनाएको छ ।

त्यसैगरी, अनलाईन प्रणाली लागू नभएका बाँकी १८ कार्यालयहरूको कारोबार यसमा समावेश गरिएको छैन । तर, यी कार्यालयहरूबाट पनि अनलाइन प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको विभागले जनाएको छ ।

देशभरका मालपोत कार्यालयबाट पुस महिनामा ७६ हजार ५ सय ३२ लिखित पारित, ५ हजार ५९ नामसारी, ५ हजार १ सय ८८ संशोधन, ६९ हजार १ सय ८१ रोक्का र ४० हजार २ सय ६५ फुकुवा गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

यस्तै विभागको तथ्याङ्कअनुसार ७१ वटा अपार्टमेन्टको लिखित पारित, २६ जग्गा दर्ता, १६ सय ३० दाखिला खारेज गरेको छ ।

कारोबार गर्नेमा इनरुवा अगाडि

विभागले सर्वाजनिक गरेको तथ्याङ्कअनुसार घरजग्गा कारोबारमा सँधै अगाडि इनरुवा मालपोत कार्यालय रहेको छ । चालु आवको पुस महिनामा पनि सुनसरीको इनरुवा मालपोत कार्यालयले ८ हजार ४३८ घरजग्गाको कारोबार गरेको छ ।

उक्त कार्यालयले पौषमा मात्रै ३ हजार ५९१ लिखित पारित, १८२ घरजग्गाको नामसारी, २३ सय ८६ को रोक्का र १६ सय ४४ घरजग्गाको फुकुवा गरेको छ ।

त्यस्तै, गत वर्षको सोही अवधिमा इनरुवा कार्यालयले ६ हजार ४२३ घरजग्गाको कारोबार गरेको थियो ।

त्यसैगरी, भद्रपुर झापाले ७ हजार ९ सय ८५ कारोबार गरेको मध्येमा २६ सय ९२ लिखित पारित, १ सय ९६ संशोधन, २ हजार ५३० रोक्का र १९ सय ५३ फुकुवा गरेको छ ।

साथै, अन्य मालपोत कार्यालयमा बेलाबारी–मोरङले ७ हजार ६ सय १४ घरगग्गाको कारोबार गरेको छ । अन्य जिल्लामा रहेको मालपोत कार्यालय नेपालगञ्ज-बाँके, चितवन, जनकपुधाम धनुषाले पनि उल्लेखनीय घरजग्गाको कारोबार गरेको छ ।

यस्तै उपत्यकामा अधिकतम कारोबार गरेकोमा लगनखेल मालपोत कार्यालय रहेको छ । लगनखेलले एक महिनामा ५ हजार ८ सय ९६ घरजग्गाको कारोबार गरेको छ । जसमा लगनखेलले २१ सय ७ लिखित पारित, १६० नामसारी, १६ यस ४३ रोक्का र १२ सय ९८ फुकुवा गरेको छ ।

भक्तपुरले २१ सय ६२ लिखित पारित, १४५ नामसारी, २१५ संशोधन, १६ सय १२ रोक्का र ११ सय ५४ फुकुवा गरी ५ हजार ८ सय २० घरजग्गाको कारोबार गरेको छ । अन्यमा काठमाडौंस्थित रहेको कलंकी मालपोत कार्यालयले ४ हजार ४१७, चावहिल मालपोत कार्यालयले ३२ सय ३२ घरजग्गाको कारोबार गरेको छ ।

६ अर्ब राजस्व संकलन

विभागले पुस महिनामा देशभरको मालपोत कार्यालयबाट ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा देशभरका मालपोत कार्यालयबाट ४ अर्ब १५ करोड ३६ लाख २५ हजारमात्रै राजस्व संकलन गरेको थियो । सो समय अवधिको तुलनामा चालु आवमा २ अर्ब ५० करोड २७ लाख ३० हजार बढी राजस्व संकलन गरेको छ ।

देशभरका मालपोत कार्यलयबाट सेवा कर, बागमति, रजिष्ट्रेशन दस्तुर, छुट, सेवा सुविधा शुल्क, पुँजीगत लाभ कर, रिकभर छुट, बिलम्ब शुल्क, नगर पूर्वाधार विकास, मुख्यमन्त्री स्वच्छता अभियान गरी ६ अर्ब रकम संकलन गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

जसमा सेवाकर वापत ४३ करोड ३४ लाख ४० हजार, बागमतिबाट १९ करोड ३५ लाख ७१ हजार, रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ७४ करोड २३ लाख, छुटबाट ५२ करोड ८६ र पूजीँगत लाभ करबाट १ अर्ब ६७ करोड ८३ लाख १८ हजार, मुख्यमन्त्री स्वछता अभियान कोषबाट ५ करोड ७ लाख ३४ हजार राजस्व संकलन गरेको छ ।

७२ करोड लगनखेलबाट मात्रै राजस्व संकलन

पुस महिनामा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयले राजस्व संकलन गरेको छ । जसमा लगनखेलले मात्रै ७२ करोड ५ लाख ५२ हजार राजस्व संकलन गर्न सफल भएको छ ।

त्यसैगरी भक्तपुर मालपोत कार्यालयले ४२ करोड ३३ लाख ८८ हजार रुपयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, उपत्यकाका अन्य कार्यालय डिल्लिबजारले ४१ करोड ८७ लाख, कलंकीले ३३ करोड ३३ लाख, चावहिलले २९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

उपत्यकाबाहिर कास्की अगाडि

पुस महिनामा उपत्यका बाहिर राजस्व संकलन गर्नेमा कास्की अगाडि रहेको छ । कास्की मालपोत कार्यालयले १६ करोड ४३ लाख ८१ हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी, इनरुवाले १५ करोड ५१ लाख, गरुडा रौतहटले १५ करोड २७ लाख, पर्साले १३ अर्ब ६३ करोड, काभ्रपलाञ्चोकले १३ करोड ४८ लाख र बुटवल रुपन्देहीले १३ करोड ८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

अनलाइनको सहजीकरणले कारोबार वृद्धिः महानिर्देशक

हालसम्म विभागले अप्रत्याशित रुपमा कारोबार किन बढीरहेको छ भन्नेबारे कुनै अध्ययन नगरेता पनि सामान्य रुपमा यस समयलाई कारोबारको उत्तम समय मानिने भएकाले कारोबार बढेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । उनका अनुसार अन्य मौसममा खेताबारीमा बालीनाली हुने भएकाले यस समयमा अधिकांश खेतबारी खाली भई छाँटकाँट गर्न सहज हुने भएकाले बढी कारोबार भएको बताए ।

त्यतिमात्रै नभई कोरोनाले गर्दा लामो समयसम्म रोकिएको घरजग्गा कार्य गर्न सबै मालपोत कार्यालयमा खुल्ला रहेकाले पौषमा बढी कारोबार देखिएको उनको अनुमान छ । त्यसैगरी, विभागले घरजग्गा कारोबार प्रक्रियाहरू रोक्का, फुकुवाजस्ता कार्यको सरलीकरणको परिपत्र रहेकोले अधिकांश रोकिएको काम पुसमा हुन सकेको उनले बताए ।

‘हाल अनलाइनबाटै रोक्का, फुकुवाजस्ता कार्य हुने भएकाले छोटो समयै धेरै कार्य हुने गर्दछ । विगतको दिनमा उक्त काम गर्नको लागि ४/५ दिन खर्चिनुपर्थ्यो,’ उनले भने, ‘अहिले अनलाइनबाटै सेवा प्रवाह भएकाले एकैदिनमा हुने भएकाले विगतको दिनमा हुन नसकेको काम पौष महिनामा भएको हो ।’


पुष्प दुलाल