विद्युतीय सवारी साधन आयात ८८ प्रतिशतले घट्यो



काठमाडौं । सरकारले चालु आवको बजेटमार्फत् विद्युतीय सवारी साधनमा लाग्दै आएको भन्सार शुल्क ह्वात्तै बढाएपछि विद्युतीय सवारी साधनको आयातमा उल्लेख्यमात्रामा कमी आएको छ ।

चालु आवको पहिलो ५ महिना अर्थात् मंसिर महिनासम्ममा जम्मा ३७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । जबकी अघिल्लो आवको सोही अवधिमा ३१५ वटा विद्युतीय सवारी साधन आयात भएका थिए । गत आवमा कुल ४८१ वटा विद्युतीय सवारी साधन आयात भएका थिए ।

बजेटमार्फत् तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उल्लेख्य मात्रामा भन्सार र अन्तःशुल्क बढाएपछि व्यवसायीहरु रुष्ट बनेका थिए । जसले गर्दा विद्युतीय सवारी साधनको आयातमा कमी आएको थियो ।

बजेटअघि भसार महसुल १० प्रतिशत लाग्ने गरेकोमा बजेटमार्फत् तत्कालीन अर्थमन्त्री खतिवडाले ८० प्रतिशत बनाएका थिए । अन्तःशुल्क पनि विद्युतीय सवारीसाधनको क्षमताअनुसार ३० देखि ८० प्रतिशतसम्म बनाइएको थियो ।

तर विष्णु पौडेल अर्थमन्त्री भएपछि अन्तशुल्कमा छुट दिने निर्णय गरिएको थियो । जसमध्ये ५० किलोवाट क्षमतासम्मका विद्युतीय सवारीमा ३० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा त्यसमा ८० प्रतिशत छुट दिने निर्णय गरिएको थियो ।

त्यसैगरी ५१ देखि १ सय किलोवाट क्षमताका सवारी साधनमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा ७० प्रतिशत छुट दिने, १५१ किलोवाटभन्दा बढी क्षमताका सवारी साधनमा ६० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने गरेकोमा त्यसलाई घटाएर २५ प्रतिशतमा सीमित गरिएको थियो ।

सरकारले बजेटमार्फत् बढाइएको अन्तःशुल्क घटाउने निर्णय गरेसँगै आयात शुरु भएको छ । कात्तिक महिनासम्म ९ वटा मात्रै विद्युतीय सवारी साधन आयात भएकोमा मंसिरसम्म आइपुग्दा यो संख्या बढेसर ३७ पुगेको हो ।


क्लिकमान्डु