नेपालमा उत्पादन हुने वस्तुको आयात रोकौंः अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपालमा उत्पादन हुने वस्तुको आयात रोक्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आयात प्रतिस्थापन गर्ने बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताए । विदेशबाट फर्किएका मानिसहरुको सिप, अनुभव, ज्ञान तथा पुँजी नेपालमै प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताए । नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गर्दै अघि बढेपनि आर्थिक विकासको निम्ति मानव संसाधन पनि महत्वपूर्ण हुने भन्दै उनले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्नेकुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रणाली बनाउने कुरामा सरकारको भुमिका हुने भएपनि सरकार गम्भिर नभएको उनको भनाई छ । देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु